बैंग्लोरको प्लेअफ यात्रा कठिन

Read Time = 4 mins

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएलमा) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पञ्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बैंग्लोरको अघि बढ्ने यात्रा कठिन बनेको हो ।

जितका लागि २१० रनको विशाल विजयी लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५५ रन बनायो । बैंग्लोरका ग्लेन म्याक्सवेलले २२ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३५, विराट कोहलीले १४ बलमा दुई चौका र एक छक्कासहित २०, फाफ डु प्लेसिस १०, राजत पाटिदर २६, महिपाल लोमर ६, दिनेश कात्तिक र हर्षल पटेल ११-११ रन बनाउनुभयो ।

पन्जाबका कागिसो रबाडाले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै ऋषि धवन र राहुल चाहरले दुई/दुई विकेट लिनुभयो । हरप्रित ब्रार र अर्शदीप सिंहले एक/एक विकेट लिनुभयो । त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँँदै २०९ रन बनाएको थियो ।

पन्जाबका जोनी बेयरस्टोले २९ बलमा चार चौका र सात छक्कासहित ६६ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । त्यसबाहेक लियाम लिभिङस्टोनले ४२ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७० तथा शिखर धवनले १५ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउनुभएको थियो ।

बैंग्लोरका हर्षल पटेलले चार ओभरमा ३४ रन खर्चेर चार विकेट लिनुभयो । वानिन्दु हसरंगाले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै ग्लेन म्याक्सवेल र शहबाज अहमदको नाममा एक/एक विकेट रहृयो ।

बैंग्लोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बैंग्लोरले अन्तिम खेल शीर्षस्थानको गुजरात टाइटन्ससँग १९ मेमा खेल्नेछ । उक्त खेल जितेको खण्डमा १६ अंक हुनेछ । बैंग्लोर अन्तिम खेलमा पराजित भएमा प्लेअफ दौडबाट बाहिरिने सम्भावना उच्च देखिन्छ । जितले मात्र पुग्दैन अन्य टोलीको प्रदर्शन र नजितामा बढी निर्भर रहनुपर्ने हुन्छ । पन्जाब भने १२ खेलमा ६ मा जित र ६ मा हार बेहोर्दै १२ अंकका साथ छैटौँ स्थानमा छ ।

कमिन्सले बाँकी खेल गुमाउने
यस्तै कोलकत्ता नाइट राइडर्सका तीव्र गतिका बलर प्याट कमिन्सले आइपिएलका बाँकी खेल गुमाउनुहुने भएको छ । अस्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले चोटका कारण आइपिएलको बाँकी खेल गुमाउने हुनुभएको हो । कमिन्सलाई हिप इन्जुरी भएको छ ।

कमिन्स श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजका लागिसमेत टिममा हुनुहुन्न । टेस्ट र एकदिवसीयमा भने उहाँ टिममा हुनुहुन्छ । अस्ट्रेलियाले जुनमा श्रीलंकाको भ्रमण गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?