नेपाली क्रिकेटका सफल कप्तान

Read Time = 15 mins

काठमाडौं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न थालेको १५ वर्ष भयो । २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उहाँ कहिल्यै नेपाली टोलीबाट छुट्नुभएन । एक वर्षअघि उहाँले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसक्नुभए पनि नेपाली क्रिकेट भन्नेबित्तिकै समर्थकलाई पारस खड्काको याद आइरहन्छ ।

दुई वर्षअघि कप्तानी छाड्नुअघि उहाँले नेपाली टोलीलाई दश वर्ष नेतृत्व दिनुभयो र परिचय बनाउनुभयो, सफल कप्तानको । पारसको कप्तानीमा नेपालले आधुनिक क्रिकेटका ठूलठूला सफलता हात पा¥यो । उहाँको कप्तानीमा नेपाल डिभिजन पाँचबाट एकसम्म उक्लियो । टी-२० विश्वकप नै खेल्यो । यस्तै नेपालले हालसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) को मान्यता पनि उहाँकै कप्तानीमा हासिल भयो । त्यतिमात्र हैन, उहाँकै कप्तानीमा नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० शृंखलासमेत जित्यो ।

खड्का नेपाली टोलीका अलराउन्डर हुनुहुन्छ । दाहिने हाते पारस मध्यक्रमका ब्याट्सम्यान तथा मध्यम तीव्र गतिका बलर हुनुहुन्छ । उहाँ आवश्यकताअनुसार अफब्रेक स्पिनसमेत गर्नुहुन्छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध अगस्ट २०१८ मा उहाँको डेब्यु भएको थियो । त्यही नै नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला पनि हो ।

खड्का नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने छैटौँ खेलाडी पनि हुनुहुन्छ । कुवेतविरुद्ध २०१२ को एसिसी ट्रफी इलाइटमा उहाँले ७७ बलमा १०६ रनको पारी खेल्नुभएको थियो । त्यसयता पारसले चार शतक प्रहार गरिसक्नुभएको छ । नेपाली टोलीबाट चार अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने उहाँ एक्लो खेलाडी हुनुहुन्छ ।

२०१९ जनवरीमा युएईविरुद्धको एकदिवसीय शृंखलाका क्रममा उहाँले शतक प्रहार गर्दै ओडिआई क्रिकेटको नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुभयो । उहाँकै कप्तानीमा त्यसबेला नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई शृंखला दुई÷एकले जितेको थियो । सोही वर्ष सेप्टेम्बरमा युएईविरुद्ध टी-२० आईमा पनि शतक प्रहार गर्दै उहाँ यस फम्र्याटमा पनि शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको थियो ।

सन् २००९ देखि विनोद दासको स्थानमा पारस कप्तान बन्नुभएको थियो । तिनै दासले नै अघिल्लो वर्ष पारसले कप्तानी छाड्दा उहाँको कप्तानी अझै केही वर्ष नेपाली क्रिकेटलाई आवश्यक रहेको बताउनुभएको थियो ।

‘पारस कुशल कप्तान हुन् । उनीसँग क्रिकेटको प्रशासनिकलगायत व्यवस्थापन गर्ने खुबी पनि छ । पारसले सबैलाई प्रेरित गर्नुभएको छ,’ दास भन्नुहुन्छ, ‘हामीले भनिराख्नुपर्दैन पारस नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै ठूलो स्टार हुन् । पारसको नेतृत्व अनुभव अझै केही समय नेपाली टोलीलाई आवश्यक छ ।’

सुरुवाती क्रिकेट
काठमाडौंकै रैथानै पारसले टुँडिखेलबाट क्रिकेटको कखरा सिक्नुभएको हो । तर, १५ वर्ष उमेरसम्म पनि उहाँले क्रिकेटलाई जीवनमा अँगाल्ने सोचिसक्नुभएको थिएन । ‘स्पोर्ट्समा रुचि थियो । क्रिकेट, बास्केटबल, फुटबल खेल्थेँ । वरपरको माहोल पनि त्यस्तै थियो । तर, स्पोर्ट्सलाई नै करिअर बनाउँछु भन्ने कहिल्यै सोचिनँ,’ पारस सम्झनुहुन्छ, ‘पढाइमा राम्रो थिएँ । त्यसैबाट कुनै करिअर बनाउँछु भन्ने सोचेको थिएँ ।’

स्कुलमा पारस साथीहरूसँग हल्काफुल्का क्रिकेट पनि खेल्नुहुन्थ्यो । टुँडिखेल, च्यासल मैदानमा शुक्रबार, शनिबार साथीहरूसँग पारस क्रिकेट खेल्ने गर्नुहुन्थ्यो । कक्षा दशमा अध्ययनका बेला केबी खत्री मेमोरियल क्रिकेट प्रतियोगिता हुने भयो । साथीहरूसहित उहाँले स्कुलमा खेलकुद शिक्षकलाई उक्त प्रतियोगिता खेल्नुपर्ने माग राख्नुभयो । शिक्षकले पनि मान्नुभयो । कीर्तिपुरमा भएको उक्त प्रतियोगिता पारसको कप्तानीमा उहाँकै स्कुलले जित्यो ।

त्यस प्रतियोगितालाई नेपाल क्रिकेट संघले राष्ट्रिय यु-१५ टोली निर्माणका लागि क्षेत्रीय छनोटका रूपमा पनि लिएको थियो । उपाधि जिताउने कप्तान पारस छनोट नहुने कुरै भएन । पारससहित उहाँको स्कुलबाट अन्य दुई खेलाडी पनि छनोट हुनुभएको थियो ।

सोही छनोटबाट १५ वर्षमुनिको राष्ट्रिय टोलीमा छनोट हुनुभयो । त्यसपछि बल्ल उहाँको रुचि क्रिकेटतिर जाग्न थालेको हो । लगत्तै पारसले २००२ मा युएईमा भएको यु-१५ एसिया कपमा पहिलोपटक नेपाली जर्सी लगाउनुभयो । त्यसपछि उक्त जर्सी उहाँबाट छुटेन ।

भारतमा एसिसी अन्डर–१७ कप खेलेपछि उहाँले बंगलादेशमा २००४ मा भएको आइसिसी यु-१९ विश्वकप खेल्नुभयो । सोही प्रतियोगितामा नै नेपालले टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गरेको थियो ।

सन् २००४ मा नै उहाँले एसिसी इन्टरकन्टिनेन्टल कपअन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गर्नुभएको थियो । त्यही वर्ष क्वालालम्पुरमा उहाँले एसिसी ट्रफीमा सहभागिता जनाउनुभयो ।

त्यसपछि पुनः यु–१९ टोलीमा फर्कनुभएका पारसले २००५ को एसिसी यु-१९ एसिया खेल्नुभयो । नेपालमा नै भएको उक्त प्रतियोगिताको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको थियो । २००६ मा टेस्ट राष्ट्र न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई पराजित गर्दै नेपालले प्लेट च्याम्पियन्ससिपको उपाधि जितेको क्षण पारसको दिमागमा अझै ताजै छ ।

२००८ मा मलेसियामा भएको आइसिसी यु-१९ क्रिकेट विश्वकपबाट पारसले उमेर समूहको क्रिकेटमा नेपालको कप्तानी गर्नुभएको थियो । त्यसबेलै पारसलाई राष्ट्रिय टोलीको उपकप्तानसमेत बनाइएको थियो । तर, त्यसबेला नेपालमा खेलको कुनै भविष्य नभएको मानिन्थ्यो । अभिभावक पनि आफ्ना छोराछोरीलाई राम्रो पढेर राम्रो जागिर खाओस् भन्ने चाहन्थे ।

प्लस टु अध्ययन सकेर लाग्नुभएका पारसले पनि त्यो कुरा विचार गरिरहनुभएको थियो र उहाँले उच्च तहको अध्ययनका लागि अस्ट्रेलिया जाने सोच बनाउनुभयो । सबै प्रक्रिया पूरा गर्नुभयो । ‘तर, भाग्य भनौँ कि दुर्भाग्य त्यसबेला मेरो अस्ट्रेलियाको भिसै लागेन । त्यसबेला भिसा नलागेकोमा केही दुःख लागे पनि अहिले भने भिसा नलागेकोमा खुशी छु,’ उहाँले भन्नुभयो ।

सफल नेतृत्व
सन् २००९ मा पारसले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नुभयो । कप्तानी सम्हालेको अर्को वर्ष नै नेपाललाई उहाँले डिभिजन पाँचको उपाधि दिलाउनुभयो । त्यसबेला आइसिसीअन्तर्गत नेपालले जितेको यो नै सबैभन्दा ठूलो प्रतियोगिता थियो । कीर्तिपुर मैदानमा भएको उक्त प्रतियोगिताको उपाधि उचालेपछि पारस नेपाली क्रिकेट समर्थकबीच लोकप्रिय बन्दै जानुभएको थियो ।

नेपाली क्रिकेटको विकास २०१० अघि नै भइसके पनि २०११ मा पुबुदु दासनायके प्रशिक्षक भएर आएपछि नेपाली क्रिकेटले योजनाबद्ध ढंगले खेल्न थालेको पारस बताउनुहुन्छ । पारसको नेतृत्व र पुबुदुको योजनामा नै त्यसपछि नेपाली क्रिकेटले ठूलो फड्को मार्‍यो ।

त्यसपछि उहाँको नेतृत्वमा नेपालले एकपछि अर्को सफलता हासिल गर्दै गयो । २०१२ मा मलेसियामा भएको डिभिजन चारको उपाधि नेपालले उहाँकै कप्तानीमा जित्यो । त्यसै वर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपालले जित्दा पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दै टी-२० विश्वकपमा छनोट भयो । त्यसबेलादेखि नेपालमा क्रिकेट लोकप्रिय बन्दै गएको हो । त्यसबेला खेलाडीहरूलाई विमानस्थलबाट उपत्यकाको परिक्रमा गराइएको थियो । ठूलो संख्यामा समर्थकहरू उपस्थित थिए ।

उहाँकै कप्तानीमा इतिहासमा नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेल्यो । हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिँदै उहाँ विश्वकपको पहिलो बलमै विकेट लिने विश्वकै आठौँ खेलाडी बन्नुभएको थियो ।
अफगानिस्तानविरुद्ध सो विश्वकपमा नौ रनको सनसनीपूर्ण जित निकाल्नेक्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिनुभएको थियो । त्यसक्रममा उहाँलाई धेरै मिडियाहरूले नेपालको कपिल देव भन्दै प्रशंसा गरेका थिए ।

पारसको कप्तानीमा नेपालले २०१५-१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियन्ससिप खेल्यो । त्यसबाट डिभिजन दुईमा रहेको नेपालले २०१८ को फेब्रुअरीमा डिभिजन दुईको उपविजेता बन्दै अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनायो । उक्त छनोटको आठौँ स्थानमा रहँदै नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको थियो ।

पारस नेपालले ओडिआई मान्यता पाएको उक्त क्षणलाई आफ्नो क्रिकेट जीवनको नबिर्सने क्षण बताउनुहुन्छ । यसलाई विश्वकप पुग्नुभन्दा पनि ठूलो एचिभमेन्ट बताउने उहाँ चार वर्षका लागि मिलेको ओडिआई मान्यतालाई निरन्तरता दिन सबैजना एकजुट भएर लाग्नुपर्ने सुझाव दिनुहुन्छ ।

प्रशासनमा आउने इच्छा
पारसले खेल जीवन त्याग्दा आफ्नो इच्छा क्रिकेट प्रशासनमा आउने बताउनुभएको छ । उहाँले खुलेरै भविष्यमा नेपाली क्रिकेटको विकासका लागि माहोल मिल्यो भने क्यानको नेतृत्व गर्ने सोच भएको बताउनुभएको छ ।

‘भविष्यमा नेपाल क्रिकेट संघ वा बोर्ड जे हुन्छ त्यसको नेतृत्व गर्ने सोचेको छु । तर, त्यो सोचेजस्तो सजिलो छैन,’ उहाँ भन्नुहुन्छ, ‘त्यसका लागि पूरै नयाँ संरचनामा आफूलाई ढाल्न सक्नुपर्छ । अहिलेसम्म मैले आफूलाई खेलाडीका रूपमा मात्रै प्रस्तुत गरेको छु । पदाधिकारी भएर आउने हो भने मैले पहिले क्रिकेटको विकासका लागि पनि काम गर्नुपर्छ ।’

पारसले आफूलाई क्रिकेट व्यवस्थापनमा पनि संलग्न गराउँदै आउनुभएको छ । नेपाली क्रिकेट निलम्बनमा हुँदा पारस कप्तानसँगै टोली छनोटकर्ता, मेन्टर, संयोजक, व्यवस्थापकको भूमिकामा हुनुहुन्थ्यो । यस्तै उहाँको इभेन्ट म्यानेजमेन्ट कम्पनी क्विन्स इभेन्ट म्यानजमेन्ट प्रालि पनि छ । जसले पोखरा प्रिमियर लिग र वुमन्स च्याम्पियन्स लिग आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?