मास्टरसेफ सन्तोषको जीवनमाथि चलचित्र बन्ने

Read Time = 2 mins

काठमाडौं । ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि चलचित्र निर्माण गरिने घोषणा भएको छ । निर्देशक दीपक रौनियारले उहाँको जीवनमाथि चलचित्र बनाउने घोषणा गर्नुभएको हो ।

निर्देशक रौनियारले शाहको जीवनका संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुनेभएकाले चलचित्र बनाउने जमर्काे गरेको बताउनुभएको छ । चलचित्रका लागि मास्टरसेफ शाहसँगको संवाद सकिएको र स्क्रिप्ट लेखनका लागि काम भइरहेको रौनियारको भनाइ छ ।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न जानु भएका सन्तोषले त्यहाँ विभिन्न होटेलमा १० वर्ष भाँडा माझ्ने काम गर्नुभएको थियो । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत पुग्नुभएका उहाँ अहिले सिनामोन ग्रुपमा हेड सेफको रूपमा कार्यरत हुनुहुन्छ । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहनु भएका मास्टरशेफ शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ ।

निर्देशक रौनियारले आफ्नो पाइपलाइनमा रहेको चलचित्र ‘द स्काइ इज माइन’को छायांकन पूरा गरेपछि सन्तोष शाहको जीवनीमा चलचित्र बनाउने बताउनु भएको छ । रौनियारले यसअघि चलचित्र ‘सेतो सूर्य’को निर्देशन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?