राष्ट्रिय फुटबल टिममा तीन खेलाडी थपिए

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टिममा तीन खेलाडी थपिनुभएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले फ्रेण्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा बोलाउनुभएको हो ।

तीन खेलाडी थपिएसँगै प्रारम्भिक टोली ३३ सदस्यीय बनेको छ । प्रशिक्षक भिसेन्जोले तीन खेलाडीको आत्मविश्वास बढाउन राष्ट्रिय टिममा स्थान दिइएको बताउनुभएको छ । मच्छिन्द्र र आर्मी फुटबल क्लबका खेलाडीहरू डुरान्ड कप प्रतियोगितामा व्यस्त भएका बेला तीनजना खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाइएको हो ।

नेपालको राष्ट्रिय फुटबल टिमले विश्वकप र एसिया कप छनोटको तयारी गरिरहेको छ । प्रारम्भिक टोलीको गोलकिपरमा किरण लिम्बू, अनिष देउला, दिप कार्की, अभिषेक बराल हुनुहुन्छ ।

यस्तै, डिफेण्डरमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष श्रेष्ठ, रोहित चन्द, सीमान्त थापा, अञ्जल महर्जन, छिरिङ लामा र अञ्जन राई, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिशरत्न चुन्जु, सन्तोष खत्री र कुशल फुयाल हुनुहुन्छ । त्यसबाहेक फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसव थपलिया हुनुहुन्छ ।

सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि हुने एसियाली छनोटको पहिलो खेलमा नेपालले लाओसको सामना गर्नेछ । अक्टोबरमा हुने दुई लिगको छनोटपछि नेपाल अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो लिग अक्टोबर १२ र दोस्रो लिग अक्टोबर १७ तारिखमा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई चार–चार टोलीको नौ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ का लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको थियो । पट एकमा २७ देखि ३६ स्थानका टोली छन् भने पट दुईमा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट एकका टोलीले पट दुईको टोलीको सामना गर्दैछन् ।

यस चरणमा नेपाल र लाओससँगै अफगानिस्तानविरुद्ध मंगोलिया, माल्दिभ्सविरुद्ध बंगलादेश, सिंगापुरविरुद्ध गुआम, यमनविरुद्ध श्रीलंका, म्यानमारविरुद्ध मकाउ, कम्बोडियाविरुद्ध पाकिस्तान, चाइनिज ताइपेईविरुद्ध टिमोर लिस्टे, इण्डोनेसियाविरुद्ध ब्रुनाई र हङकङविरुद्ध भुटानले खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?