अस्मिना र रोय पहिलोपल्ट टोलीमा

Read Time = 5 mins

काठमाडौं । तीव्र गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोय पहिलोपटक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग खेल्ने पाँच खेलको वुमन्स महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा गरेको टोलीमा उहाँहरू टोलीमा पर्नुभएको हो ।

क्यानले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । अस्मिनाले बागमती प्रदेशको कप्तानका रूपमा घरेलु क्रिकेट खेल्दै आउनुभएको छ । अस्मिनाले यसअघि पनि नेपाली टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउनुभएको थियो । तर, अन्तिम टोलीमा पर्न भने उहाँ निरन्तर असफल हुनुहुन्थ्यो । हिरामान्ये यु-१९ राष्ट्रिय प्रतियोगिताबाट आउनुभएको हो । लिग स्पिनर उहाँ पहिलोपल्ट सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्नुभएको थियो । पहिलोपल्ट नै उहाँ राष्ट्रिय टोलीमा स्थान बनाउन सफल हुनुभयो ।

क्यानले घोषणा गरेको टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरान्माये र विन्दु रावल हुनुहुन्छ । यसपटक टोलीमा सुमन खतिवडा, ऋतु कनोजिया, ममता चौधरी, सरस्वती चौधरी र करुणा भण्डारी भने पर्नुभएन ।
नेपाल र युगान्डाबीच त्रिवि क्रिकेट मैदानमा पाँच खेलको शृंखला हुँदैछ । नेपाली महिला क्रिकेट टोलीले खेल्न लागेको यो पहिलो शृंखलासमेत हो । जेठ २ गते पहिलो, जेठ ३ मा दोस्रो, जेठ ५ गते तेस्रो, जेठ ६ गते चौथो र जेठ ७ गते पाँचौँ खेल हुनेछ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा दर्शकले निःशुल्क प्रवेश पाउनेछन् । क्यानले नेपाल र युगान्डाबीचको सिरिजमा दर्शकका लागि प्रवेश शुल्क नराखिएको जनाएको हो । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले सिरिजलाई लिएर खेलाडीहरू निकै उत्साहित रहेको बताउनुभएको छ । टोलीमा नयाँ खेलाडीहरूले पनि मौका पाएको र यसले भविष्यको नेपाली टिम बनाउन समेत मद्दत पुग्नेमा उहाँले विश्वास लिनुभयो ।

‘खेलाडीहरू एकदमै उत्साहित छन् । यो पटक टिममा नयाँ खेलाडीलाई मौका दिइएको छ । उनीहरूले भविष्यमा नेपाली क्रिकेट थाम्नेछन्’, टमटाले भन्नुभयो, ‘महिला टिमले निकै कममात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाउने गर्छ । यसपटक घरेलु मैदानमै शृंखला आयोजना गरिदिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु । नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि यस्ता प्रतियोगिता धेरै हुन आवश्यक छ । यसखाले प्रतियोगिताले पुराना खेलाडीलाई पनि एक्सोजर दिन्छ ।’

यस्तै टोलीकी महत्वपूर्ण सदस्य इन्दु बर्माले सिरिज खेल्न जादा निकै खुशी लागेको बताउनुभयो । उहाँले सिरिजका कारण आगामी प्रतियोगितामा ठूलो मद्दत पुग्ने धारणा राख्नुभयो । ‘पहिलोपटक घरेलु दर्शकमाझ सिरिज खेल्दैछौं । यो आफैमा उत्साहित पार्ने खबर हो’, इन्दुले भन्नुभयो, ‘सिरिजका माध्यमबाट क्षमता देखाउने मौका पाउने र भविष्यमा हुने प्रतियोगिताका लागि राम्रो खेलाडी छनोट गरेर उत्कृष्ट टिम बन्नेमा आशावादी छौँ । हाम्रो टिममा सबै कुरा राम्रो छ । सिरिजमा पनि नेपालले राम्रो गर्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?