निधन भएको १४ वर्षपछि इतिहासविद् शर्माको पुस्तक प्रकाशित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।

कार्यक्रममा स्वर्गीय इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको थियो । समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरूको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन् ।

विमोचित उक्त पुस्तकको बारेमा बोल्दै वरिष्ठ पत्रकार शाक्यले समालोचना विधामा इतिहासविद् शर्माको खुबीको प्रशंसा गर्नुभयो । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमा पागल कविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उहाँको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गर्नुभएको छ,’ शाक्यले भन्नुभयो । समालोचक ताम्राकारले साहित्य क्षेत्रमा गिरिजाप्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राख्नुभयो । ‘गोवर्धन शर्माले यस पुस्तकमा गिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षा गर्ने क्रममा समालोचनाको एक एक नियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ । आज उहाँ जिवीत हुनुभएको भए हामीले समालोचना विधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँ हुनुहुन्न’ ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गर्नुभयो ।

शर्माका सुपुत्र सुभाष शर्माले बुबा स्वर्गीय भएको १४ बर्ष पछि उहाँको पुस्तक प्रकाशन हुँदा निकै खुसी लागेको बताउनुभयो । नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरूको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान पनि गरेको थियो । समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरू रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?