‘निर्माण व्यवसायीको भुक्तानी एक महिनापछि’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच सोमबार अर्थ मन्त्रालयमा छलफल भएको छ । सो अवसरमा अर्थमन्त्री महतले निर्माण व्यवसायीका जायज माग सरकारले समाधान गर्ने बताउनुभएको छ । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाँडै काम सम्पन्न गरौँ । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ ।’ निर्माण व्यवसायीको चासो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो भुक्तानी हुने उहाँको भनाइ थियो ।

मन्त्री महतले भन्नुभयो, ‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ । हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौँ, बिल उठाएका सबै भुक्तानी हुन्छ । सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो ।’ हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्यांक ल्याउन निर्माण व्यवसायीलाई आग्रह गर्दै अर्थमन्त्री महतले सम्बन्धित मन्त्रालयले बिल उठाएको एक महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्ने भएकाले मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गरिने बताउनुभयो ।

यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिँचाइ विभागमा नाराबाजीसहित तीन घण्टा धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरेको छ । व्यवसायीले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालोपट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्नासहित सांकेतिक ताला लगाएको थियो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष ई. आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष सिंहले सरकार निर्माण व्यवसायीका समस्याप्रति गम्भीर नभएको बताउनुभयो ।

सो अवसरमा महासंघका पूर्वअध्यक्ष रमेश शर्मा, मानार्थ सदस्य गेल्जे लामा, बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुवित श्रेष्ठ, कार्यसमिति सदस्य विना अधिकारी, उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण गौतमसहित जिल्ला निर्माण व्यवसायी संघ धनुषा, रौतहट, भक्तपुरका अध्यक्षले व्यवसायीहरूका जायज माग पूरा नभएसम्म जारी आन्दोलन रोक्न नहुने बताए । वरिष्ठ उपाध्यक्ष एडीले पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?