उड्डयन क्षेत्रमा ७४ वर्षे इतिहासको त्यो दिन

Read Time = 6 mins

काठमाडौं । नेपालको हवाई क्षेत्रमा बिहीबार एउटा इतिहास कायम भयो । जब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले सफल अवतरण गर्‍यो । जुन इतिहास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछिको हो । योभन्दा अघि नेपालमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकामा अहिले दुईवटा पुगेका छन् । तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ ।

बिहीबार दिउँसो ३ बजे काठमाडौंबाट उड्ने भनिएको जहाज साँझ ६ बजेमात्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । २७४ सिट क्षमता रहेको जहाजले २६० जना लिएर भैरहवा पुगेको थियो । जहाज ठूलो र पहिलोपटक भएकै कारणले केही ढिलाइ भएको प्राधिकरणले प्रष्टीकरण दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफैं विमानमा सवार भएर जानुभएको थियो । जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि भव्य स्वागतसहित कार्यक्रमको आयोजनासमेत गरिएको थियो । तर, जहाजमा सवार अधिकांशले भने ढिलो गरी भैरहवा पुर्‍याएको भन्दै गुनासो गरेका थिए । उनीहरूले देशकै लागि गौरवको दिन भए पनि प्राधिकरणले व्यवस्थापन राम्रो नगर्दा जहाजमा सवार यात्रुहरूले सास्ती भोग्नुपरेको बताएका छन् । उनीहरूले काठमाडौं विमानस्थलमै चार घण्टा कुराएर विमान चढाए पनि पिउने पानीसमेत व्यवस्था नगर्दा यात्रुहरूले समस्या भोग्नुपरेको गुनासो गरेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सामान्य नास्ताको भरमा कार्यक्रमका सहभागीहरूलाई राती ९ बजे फर्काइएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट नाम दिइएको छ । यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहीबार काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज ल्यान्ड गरेको छ । बिहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट भनेर नाम दिएका छौँ । नेपालको नागरिक उड्डयन क्षेत्रमा ७४ वर्षपछि दोस्रो विमानस्थल हाम्रो भूमिमा निर्माण सम्पन्न गरेका छौँ । भगवान् गौतमबुद्धको जन्मदिन बुद्ध पूर्णिमा जेठ २ गते मे १६ देखि विमानस्थलबाट व्यावसायिक उडान सञ्चालन हुनेछ । उक्त दिन यो विमानस्थलको औपचारिकरूपमा उद्घाटन हुनेछ ।’

भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो । अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाई उड्डयनको इतिहासमा नयाँ फड्को भएको निर्देशक अधिकारीले बताउनुभयो । अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउने उहाँले बताउनुभयो । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड-१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुने प्राधिकरणले विश्वास लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?