धनगढीमा दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।

नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धनगढी उपमहानगरपालिकालाई कल्याणकारी बनाउदै गएका छौँ ।

नागरिकलाई टाउकोमा राखेर काम गर्दै आएका छौँ । हाम्रा दाजु भाइहरू वैदेशिक रोजगारीमा रहनु भएको हुन्छ । आमा बुवाको सुखका लागि उहाँहरू विदेश जादै आउनु भएको छ । मृत्युलाई रोक्न त सकिदैन । तर, उहाँहरूले आमा बुवाको अनुसारसमेत हेर्न पाउँदैनन् । त्यही भएर हामीले चिस्यान सेवा सुरु गरेका हौ ।’

धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन् । उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन् । विद्युत्बाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पुर्‍याइनेछ ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षित राख्न सहयोग गरेको बताउनु भयो । उहाँले शव चिस्यान सेवालाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा हामीले चिस्यान सेवा राखेका थियौ । हामीले सुरुवात गरेका छौ । विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरेका हौ ।’ धनगढीको गर्मीमा मृत्युको शव जोगाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने उहाँले बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि समेत पाँच हजार दिने गरेको छ । परिवारका सदस्यको मृत्यु भएपछि नगर प्रहरीलाई खबर गरेपछि पाँच हजार घरसम्म पुर्‍याउने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?