पानीको अभावका कारण स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थीत पञ्चेश्वर स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द गरिएको छ । पानीको अभावमा स्वास्थ्य चौकीले चौँबिसै घण्टा प्रदान गर्दै आएको सुत्केरी सेवा आइतबारदेखि बन्द गरिएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले पानीको अभावमा सुत्केरी सेवा दिन नसकिने भएकाले स्वास्थ्य चौकी व्यवस्थापन समितिको रहोबरमा अर्काे व्यवस्था नभए सम्मका लागि बन्द गरिएको जानकारी दिनुभयो ।

‘स्वास्थ्य संस्थामा पानी अनिवार्य हुन्छ त्यसपनी डेलिभरी केसमा झन बढी नै चाहिन्छ । आज सम्म आकाशे पानी जमा गरेर सेवा दिदै आएका थियौँ’ उहाँले भन्नुभयाे, ‘जमा गरीराखेको पानी सकियो सेवा दिन नसकिने भएपछि बन्द गरेका हौ’ ।

प्रत्येक महिना ८/९ जना महिलाहरु पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गरेका छन् । स्वास्थ्यचौकी हुँदै अर्काे टोलमा पाइप लाइन गएपनि स्वास्थ्य चौकीलाई नदिएपछि सुत्केरी सेवा बन्द गर्नुपरेको जनाइएको छ । स्वास्थ्यचौकीमा खानेपानीको व्यवस्थापन माग गर्दा समेत कसैले चासो नदिएको इन्चार्ज सार्कीले बताउनुभयो ।

यता गाउँपालिका उपाध्यक्ष बिना भट्टले संघीय सरकारको समपुरकका लागि पालिकाबाट प्राथमिकताका साथ सिफारीस गरेको भएपनि नपरेको बताउनुभयो । लिप्टिङ प्रविधिबाट मात्रै स्वास्थ्य चौकीमा पानी पु-याउन सकिने भएकाले गाउँपालिकाको बजेटले सम्भव नभएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी, वडा कार्यालय र उक्त गाउँका १४० घरपरिवारले खानेपानी सास्ती खेप्दै आएका छन् । पानीको अभावमा सुत्केरी सेवा बन्द गरिएपछि पञ्चेश्वर १ का गर्भवति महिलाहरुले घरमै सुत्केरी हुनुपर्ने बाध्यता श्रृजना भएको छ। यसले मातृमृत्यु र शिशु मृत्यु हुने जोखिम बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?