पानीपुरी बेच्दै स्नातक पढेका युवा, भन्छन्- ‘कामलाई सम्मान गनुपर्छ’

Read Time = 6 mins

-भावना अवस्थी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित पानी ट्यांकीबाट करिब दुई सय किलोमिटर उत्तर बाँयातिर छ, गज्जबको पानीपुरी पसल । दैनिक सयौँको संख्यामा युवायुवतीहरू उक्त पसलमा झुम्मिन्छन् । स्नातक तह पढेका युवाहरूले सुरु गरेका हुन्, सो पानीपुरी पसल ।

काठमाडौंको बौद्ध रामिटीका २८ वर्षीय सतिस थापाले गत वर्ष उक्त पसल सुरु गर्ने तयारी गर्दा कतिपयले नाक खुम्च्याएका थिए । उहाँ सम्झिनुहुन्छ, ‘पानीपुरी भन्नेबित्तिकै कतिपयले त्यति राम्रो भनेका थिएनन् । सुरुमा मेरै कतिपय साथीहरूले यस्तो पनि के काम गर्ने भनेका थिए । तर, हामीले वास्ता गरेनौँ । अहिले उनीहरू नै प्रशंसा गर्छन् ।’

नेपालमा कोरोना लकडाउन सुरु भएपछि सञ्चालनमा ल्याएको गज्जवको पानीपुरी पसलमा सतिससँगै प्रभात अधिकारी र अनुज बज्राचार्य पनि पार्टनर हुनुहुन्छ । पानीपुरी पसल सञ्चालन गर्ने धारणा कहाँबाट आयो त ? सतिस हाँस्दै जवाफ दिन्नुहुन्छ, ‘पहिला रेष्टुरेण्ट खोल्न खोजेको थिएँ । सानो सटरमा रेष्टुरेण्ट खोल्न नमिल्ने रहेछ । पछि गएर पानीपुरीमा युवाहरूको आकर्षण पनि हुने लगानी पनि थोरै चाहिने भनेर सुरु गर्यौं ।’

‘कामलाई सम्मान गनुपर्छ, कामले मानिसलाई सानो वा ठूलो बनाउँदैन । मसँगै तीनजना साथीहरू मिलेर पसल चलाइरहेका छौं, सन्तुष्टि मिलेको छ व्यवसायसँग खुसी हुन सके अन्त जानु पर्दैन ।’ थापा थप्नुहुन्छ, ‘प्लेटको ७० रुपैयाँभन्दा महँगो भयो भन्नुहुन्छ पानीपुरी खाइसकेपछिको प्रतिक्रिया चाहिँ राम्रै आइरहेको हुन्छ । धेरैजसोले त मिठो मान्दै थपेर खानुहुन्छ ।’

उहाँले पानीपुरीसँगै चाट र दहीपुरी पनि बेच्ने गरेका छन् । हेर्दा, सुन्दा सामान्य लागे पनि पानीपुरी बेचेर दैनिक १३ हजारसम्म आम्दानी हुने गरेको थापाले बताउनुभयो । उहाँले बनाएको पानीपुरी खान मात्रै टाढा टाढाबाट ग्राहक आउने गरेका छन् । अरू दिनभन्दा पनि शुकबार र शनिबार बढी ग्राहक आउने गरेको उहाँको भनाइ छ ।

समय र स्वाद दिनसके दैनिक चार हजारदेखि पाँच हजारसम्म मुनाफा कमाउने उहाँहरूले औसतमा मासिक सवा लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ । थापा र उहाँका साथीहरूले पानीपुरी व्यवसायलाई नै अगाडि बढाउने योजना बनाउनुभएको छ । व्यापारबाट भएको फाइदाले खुसी हुनु त स्वाभाविकै हो तर बुढापाका मान्छेहरूबाट आएको सकारात्मक प्रतिक्रियाले थप ऊर्जा दिन्छ ।

लाखौँ लगानी गरेर विदेशिनुभन्दा थोरै लगानीमा देशभित्रै व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा सतिस थापालाई लिन सकिन्छ । कमाइ गर्नका लागि मात्र नभएर आफूजस्ता कैयौँ युवाहरूलाई पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा मिलोस् भनेर पनि व्यवसाय सञ्चालन गरेको थापाको भनाइ छ ।

देशभित्र उत्पादन भएको शिक्षित युवा र दक्ष जनशक्ति रोजगारका लागि विदेशिने लहरले देशको अवस्था नाजुक बन्दै गइरहेको छ । बुद्धि पुर्याएर आफ्नो श्रमशक्ति, स्रोतको उपयोग गरी स्वदेशमै व्यवसाय सञ्चालन गर्न सके देशको स्वरोजगार र अर्थतन्त्रमा सुधार गर्न सकिन्छ भन्ने दरिलो उदाहरण सतिस थापा हुनुहुन्छ ।

प्रत्येक वर्ष त्रिभुवन विश्व विद्यालयले लाखौँ शिक्षित श्रम शक्ति उत्पादन गर्दछ । स्नातकोत्तर गरिसक्दासम्म पनि नेपालको शिक्षा प्रणालीले शिक्षा के हो भनेर सिकाउन सकेको छैन । कुनै उच्चस्तरको जागिर गर्न वा टन्न धन आर्जन गर्नका लागि मात्र पढ्नुपर्छ भन्ने मान्यता अधिकांश शिक्षित वर्गमा नै पाइन्छ ।

पछिल्लो समय युवा पुस्ता वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम बढ्दो छ । अलिकति पढेलेखेका युवा पुस्तामा युरोपियन देशको भोक मेटिन सकेको छैन । ‘देशमा भविष्य छैन’ भन्नेहरूका लागि उदाहरणीय काम गर्ने युवा अझै पनि कहीँ कतै भेटिन्छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu Hari
Bishnu Hari
2022-05-16 11:50 am

Himalaya Times मा पनि सम्पादन चाँही राम्रै हुँदोरहेछ।”काठमाडौंको वानेश्वर स्थित पानीट्याङ्कीबाट करीब दुईसय किलोमिटर….”

रिलेटेड न्युज

छुटाउनुभयो कि ?