बुद्ध जयन्ती मनाउनुको औचित्य के !

Read Time = 14 mins

✍️ मणि शर्मा
स्थानीय निर्वाचनको खेला पनि सकियो । यो निर्वाचन हेर्दा उम्मेदवार चयनदेखि मतदानसम्म केवल पैसा र सरसामानको खेलामात्र देखियो । नातावाद र कृपावाद आफ्नो ठाउँमा छँदै छ । एउटा असल चरित्र भएको गरिब नागरिक यस्तो निर्वाचनमा न उम्मेदवारी दिन सक्छ, यदि कथंकदाचित दिइहाल्यो भने जित्न सक्दैन । उम्मेदवारहरू बिक्री भएको पनि देखियो । आफ्ना मतदातालाई होलसेलमा बलियो पकड भएको पैसावाल उम्मेदवारलाई उम्मेदवारले नै बेचेको पनि सुनियो । मतदाताहरू पनि दुई-चारदेखि पाँच दश हजारसम्म, एक बोरा चामल, धोती सारी, मांस, मदिरा र मोबाइल सेटमा आफूहरूलाई बेचेको पनि पाइयो ।

एउटा वडा अध्यक्षको उम्मेदवारले पच्चीसदेखि पचास लाख र मेयरका उम्मेदवार नगरपालिकामा मात्र दुई चार करोड खर्च गरेको चर्चा पनि सुनियो । यति पैसा खर्च गरेर जित्ने उम्मेदवारले गर्ने विकास कस्तो होला ? राष्ट्र बैंकले दिएको जानकारीअनुसार यो चुनावका बेलामा नौ अर्ब रुपैयाँ बैंकहरूबाट निष्काशन भएको छ । यसबाहेक घरमा राखेको वा प्रायोजित रकम खर्च भएकै होला । रेणु दाहाललाई जिताउन पूरै राज्य संयन्त्रले साम, दाम, दण्ड, भेदको नीति अपनाए त्यसले यो व्यवस्थाको कुरूपतालाई नांगो पारिदिएको छ । नेतृत्ववाट गलत उम्मेदवार चयन गर्नाले उसले जित्नका लागि हरसम्भव उपाय अवलम्बन गरेको देखिन्छ ।

हामीले भन्ने गरेका छौं बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल बुद्धको भूमि हो तर हामी बुद्धको शिक्षालाई लिलामी गरिरहेका छौं । बुद्धले आफूले ज्ञान प्राप्त गरिसकेपछि आफ्नो शिष्य चयन गर्न बुद्धिमत्तापूर्ण निर्णय गरेका थिए । उनले आफ्ना चिनेका सबैलाई छाडेर सारनाथमा भएका पूर्वपरिचित पाँचजना भिक्षुलाई रोजे । उनले आफ्नालाई भन्दा पनि योग्यलाई रोजेका थिए । ती पाँचजनाले काशीका साहुका छोरा यशकुमारसहित पचपन्न जनालाई धर्मबोध गराए । अचेलका नेताहरू आफ्ना आसेपासे कार्यकर्ता अगाडिपछाडि लिई हिँड्न गर्वबोध गर्छन् तर ती पाँचजनाले आफ्ना शिष्यहरूलाई धर्मप्रचारका लागि चारै दिशातिर पठाए ।

आज श्रीलंकाको जुन दयनीय तथा भयावह अवस्था भएको छ त्यसको मूल कारण त्यहाँका शासकको परिवारवाद नै हो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि संवैधानिक नियुक्तिहरूमा परिवारवाद लागू गर्नाले बुद्धमार्गीहरूको बहुल्य भएको भूमिको आज भयावह परिस्थिति भएको छ । नेपालमा पनि परिवारवाद र कृपावाद जंगलको आगो झैँ फैलिएको छ र प्रत्येक दलहरूमा यो व्याप्त छ । रेणु दाहालको जित आज पुष्पकमलमात्र होइन सत्ता टिकाउन गठबन्धन सरकारले चितवनमा जुन नग्न नृत्य ग¥यो त्यसले नेपालमा वंशवाद र परिवारवाद कसरी हावी भएको छ भन्ने एउटा सानो उदाहरण हो ।

बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु आएका थिए तर उनी आफ्नो दरबारमा नगएर तिलौराकोटदेखि करिब पाँच माइल दक्षिणको एउटा वनमा आफ्ना शिष्यहरूसित बसे । छोरा आएर त्यहाँ बसेपछि पिता शुद्धोदनले उनलाई लिन मान्छे पठाए तर उनी नगएपछि पिता स्वयं उनलाई लिन आए । बुद्धले बरू पितालाई नै भिक्षु बन्न आग्रह गरे । अन्त्यमा पिताले पुत्रलाई भोजनका लागि आग्रह गर्दा बुद्धले पिताको निम्तो स्वीकार गरी आफू शिष्यहरूसँगै आउने भने तर उनी दरबारमा गए पनि घरभित्र पस्न मानेनन् ।

आमा गौतमी, पत्नी यशोधरा र सात वर्षीय छोरा राहुल उनलाई भेट्न उनी बसेको ठाउँमा आए । छोरालाई उनले त्यहीँ भिक्षु बनाए । माता र पत्नी पनि भिक्षुणी बन्न खोज्दा नारीलाई भिक्षुणी बन्ने नियम नभएको भन्दा अन्तमा माताको आग्रह टार्न नसकेर भिक्षुणी बनाए । उनीहरूसँग आएका अरूहरू पनि भिक्षु बने ।

तर, बुद्धले कहिल्यै आफ्नो परिवारका सदस्यलाई प्राथमिकतामा राखेनन् । उनले आफ्नो सात वर्षीय छोरा राहुलको जिम्मा सारीपुत्रलाई दिएका थिए, आफूले लिएनन् । एकपटक बालक राहुल सुत्ने ठाउँ नपाएर शौचालयमा सुतिरहेको बुद्धले देखेपछि वयष्कले सानाको देखभाल गर्न सचेत गराएका थिए । एकपटक आमा यशोधरा अस्वस्थ्य हुँदा बालक राहुल आफैं औषधि खोज्न गएकाले बुद्धले परिवारलाई प्राथमिकता नदिएको देखिन्छ । के हाम्रा नेता जो आमजनतालाई बुद्धको उपदेश पालन गर्ने अर्ति दिन्छन् स्वयं आफूले उनका उपदेशहरूको पालन गरिरहेका छन् ? बुद्धको उपस्थापक (निजी सचिवसरह) भिक्षु आनन्द नाताले भाइ परे पनि उनलाई भाइको नाताले नभई उनमा भएको विशेष योग्यताको कारण त्यो पद पाएका थिए ।

हेर्दा बुद्ध सर्वोच्च स्थानमा रहेर सबैको श्रद्धाको पात्र भए तापनि उनमा कुनै घमण्ड थिएन । धर्मबोध भइसकेका शिष्यहरू आफूखुशी धर्म प्रचारमा जान पाउँथे । भिक्षुहरूले भिक्षामा प्राप्त गरेको अन्न पकाएर सबैले बराबर बाँडेर खान्थे । बुद्ध स्वयं पनि त्यही खान्थे । जे दिनु छ व्यक्तिलाई होइन संघलाई देऊ, धन वा अन्न सञ्चय गरेर नराख भन्थे । बुद्धको उपदेश सम्झिँदा मलाई दश वर्षे हिंसात्मक कारबाहीमा संलग्न एकजना मित्रले भनेको कुरा अहिले सम्झना आयो ।

उनले मलाई भनेका थिए, ‘जब प्रचण्डको परिवार इण्डियाबाट रुकुम रोल्पातिर आउँथे तब उनी र उनको परिवारका लागि राम्रो र ठूलो खसी ल्याएर काट्नु पथ्र्यो । मीठो मसिनो चामल खोजेर ल्याउनु पथ्र्यो । पाकेको मासुको राम्रो राम्रो चोक्टा प्रचण्ड र उनको परिवारलाई खान दिएपछि बचेको जे जस्तो छ हामीले खानु पथ्र्यो । हामी मोटो चामल खान्थ्यौँ, प्रचण्ड खानको धेरै शौखिन थिए । आज पुष्पकमल दाहालको बैठक कोठामा यामानको बुद्धको प्रतिमा छ तर उनी अझै बुद्धको उपदेशको विपरीत दिशातिर गइरहेका छन् ।

बैठक कोठामा बुद्धको प्रतिमा राख्नु दुनियाँको आँखामा छारो हाल्नु हो । अहिले स्थानीय चुनावमा उनी पुत्रीमोहमा यति पागल भएका छन् कि पुत्रीलाई जिताउन राज्यशक्तिको दुरुपयोग हदभन्दा बाहिर गएर गरेका मात्र छैनन् आमजनतालाई धम्की पनि दिएका छन् । उनका शिष्य देउवा आनन्दको चरित्रमा देखिएका छन् तर विपरीत दिशाबाट ।’ बुद्धले नेतृत्व गर्नेमा चारगुण हुनुपर्छ भनेका थिए-दान दिने, प्रिय वचन बोल्ने, काममा सहयोग गर्ने र सम्मानपूर्ण व्यवहार गर्ने । कोशलका राजा प्रसेनजित घूस खान्थे भन्ने चर्चा थियो ।

उनले जेतवन विहारको पछाडिपट्टि एक लाख पण घूस लिएर तैर्थियहरूलाई विहार बनाउन दिएका थिए । बुद्धले उनलाई घूस खान हुँदैन भनेर उपदेश दिँदा उनले आफ्ना कर्मचारीले पनि घूस खान्छन् भने । बुद्धले उनलाई उदाहरण दिँदै भने, नदीमा तरिरहेका गाईहरूमध्ये जो अगुवा छ उही बांगो गयो भने सबै गाई बांगो जान्छन् । मनुष्यहरूमा जो अगुवा छ, जसले धर्माचरण गर्छ भने सबै प्रजाहरूले त्यही बाटो अनुसरण गर्छन् । त्यसैले राजा (शासक) धार्मिक भए प्रजा सुखी हुन्छन् । यो चुनावमा त्यही देखियो तर विपरीत दिशाबाट र यहाँ शासक वर्ग नै भ्रष्ट छन् त्यसैले जनता पनि भ्रष्ट छन् ।

मैले कतिपय ग्रामवासीलाई उम्मेदवारहरूले मतको बदलामा पैसा दिएमा नलिनु होलाभन्दा प्रायः सबैको एउटै भनाइ पाएँ । जो एकचोटि मेयर वा वडाअध्यक्ष भएर पाँच वर्षसम्म भ्रष्टाचार गरेर कमाएका छन् त्यसैको एउटा सानो अंश हामीलाई दिने हो, भोलि जितेपछि फेरि भ्रष्टाचार गरेर कमाउँनेछन् । उनीहरूले दिएको पैसा र सामान लिन हामीलाई के पाप लाग्छ र ? जो नयाँ उम्मेदवार छन् उनले पनि जिते भोलि कमाउने नै हुन्, उनीहरूले पाँच वर्षसम्म पदमा बसेर भ्रष्टाचार गरेर कमाइहाल्छन् । यस्ता भ्रष्टको पैसा र सामान खान के दोष छ र ? जस्तो राजा उस्तै प्रजा । एकजना भाइ त छ सय एकजना सांसदको श्राद्ध गर्दै हिँडेका थिए ।

अन्त्यमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको दिन लुम्बिनी आउँदैछन् । प्रधानमन्त्री र राष्ट्रपति उनको स्वागतमा लुम्बिनी जाने कार्यक्रम बाहिर आएको छ । हाम्रा प्रधानमन्त्री भारत जाँदा त्यहाँका राज्यमन्त्री स्वागतमा आउँछन् । हामी कहाँ प्रधानमन्त्री र राष्ट्रपतिले स्वागत गर्नुपर्ने ? पूर्वप्रधानमन्त्री ओलीले भारतीय पत्रकारलाई दिएको अन्तरवार्ता सम्झिन्छु, देश सानो हुनसक्छ हैसियत सानो हुँदैन । तर, हाम्रा शासकले हाम्रो हैसियत आफैं सानो पारिरहेका छन् । भारतको बजार चिनियाँ सामानले भरिएको छ तर हाम्रा प्रधानमन्त्री पश्चिम सेती जलविद्युत् आयोजना सम्बन्धमा भन्छन्, चीनले उत्पादन गरेको विद्युत् भारतले खरिद गर्दैन ।

मोदी चीनले बनाएका लुम्बिनी विमानस्थलमा नझर्ने रे ? चिनियाँ सामान प्रयोग गर्ने, भारतमा चीनले बनाएका उद्योग चल्ने नेपालमा चीनले उत्पादन गरेको बिजुली नचल्ने ? सत्ता र पैसाको लागि भारतभक्तिभन्दा कालापानी क्षेत्रलगायत सत्तरीभन्दा बढी ठाउँमा भारतले कब्जा गरेको भूभाग भारतले फिर्ता गरेपछिमात्र दूरगामी सन्धि सम्झौता गर्नुपर्ने हो । के यो सरकारले भारत अधिकृत नेपाली भूमिमा स्थानीय निर्वाचन गराउन सक्यो ? एकचोटि कोशलराज प्रसेनजित बुद्ध कहाँ आएर भने, काशीराजले मेरो राज्यमाथि आक्रमण गर्न लागेका छन्, म के गरुँ ? ।

बुद्धले उनलाई युद्ध गर्नुभन्दा उनले युद्ध भनेको हिंसा हो, के म हिंसा गरुँ ? बुद्धले भनेका थिए, आफ्नो राष्ट्रको स्वतन्त्रता तथा प्रजाको जीवन बचाउने कर्तव्य राजाको हो । यदि तिमीले युद्ध गरेर आफ्नो राष्ट्रको स्वतन्त्रता तथा आफ्ना प्रजाको जीवन रक्षा गरेनौं भने यो अधर्म हुनेछ । जाऊ युद्धको तयारी गर । बुद्धबाट उपदेश पाएपछि उनले आफ्नो राष्ट्रको स्वतन्त्रता तथा जनताको जीवनको रक्षा गरेका थिए । के हाम्रा नेताले बुद्धको आदेश पालन गरेर कुनै पनि उपायबाट आफ्नो राष्ट्रको स्वतन्त्रता तथा जनताको रक्षा गरेका छन् ? जब शासकवर्गले बुद्धको उपदेश नै पालन गर्दैनन् भने बुद्ध जयन्ती मनाउनुको औचित्य के ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?