तानसेनमा २५ वर्षपछि काँग्रेसले तोड्यो एमालेको लालकिल्ला

Read Time = 6 mins

रामचन्द्र रायमाझी
पाल्पा । नेकपा एमालेको लालकिल्लाका रुपमा रहेको तानसेन काँग्रेसले तोडेको छ । एमालेले २०५४ देखि निर्वाचन जित्दै आएकोमा २५ वर्षपछि काँग्रेसले तोडेको हो ।
तानसेन नगरपालिकामा २०४९ मा नेपाली काँग्रेसका धिरेन्द्र प्रसाद श्रेष्ठ अत्यधिक मतका साथ नगर प्रमुखमा विजयी हुनुभएको थियो । त्यस यताका निर्वाचन भने एमालेले जित्दै आयो । २०५४ मा नेकपा एमालेका अशोक कुमार शाहीले नगरप्रमुख जित्नुभएको थियो । ०५४ देखि नै एमालेले आफ्नो वचश्व राखेको तानसेनमा पुनः २०७४ को स्थानीय निर्वाचनमा पनि कायमै राख्यो । त्यति बेला पनि नगर प्रमुखमा अशोक कुमार शाही नै निर्वाचित हुनुभयो । काँग्रेसलाई विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा जित्न निकै सकस भयो । एमालेले आफ्नो गढ सावित गर्दै पटक–पटक विजयको झण्डा फहरफराउदै आयो । तानसेन प्रदेश र संघीय निर्वाचनमा समेत एमाले उम्मेदवारका लागि नै निर्णायक शक्तिका रूपमा देखियो । जसका कारण विजय प्राप्त पनि ग¥यो । हरेक निर्वाचनमा यहाँको मत नै नेकपा एमालेका उम्मेदवारका लागि सति सावित भयो । यस पटकको स्थानीय निर्वाचनमा पनि एमालेले जित्ने पालिकामा तानसेन एक नम्बरमै थियो । उम्मेदवारी दर्तादेखि मत गणनासम्मको अवस्थासम्म एमालेले तानसेन गुमाउनेमा कुनै आशासमेत गरेको थिएन । तर अहिलेको स्थानीय निर्वाचनमा तानसेनमा एमालेले लजास्पद हार बेहोरेको छ । एमालेको गढमा नेपाली काँग्रेसले माओवादीसहित पाँचदलीय गठबन्धन दलको सहयोगमा विजयको झण्डा फहराएको छ । प्रमुखमा काँग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा माओवादीकी प्रतिक्षा सिंजाली ठूलो मतान्तरसहित तानसेनमा उदाउनुभएको छ । १४ वडा मध्ये १० वटा वडामा अध्यक्षसहित तानसेनमा काँग्रेसले धेरैपछि विजयको झण्डा गाडेको हो ।
लामो समय एकछत्र रुपमा एमालेले शासन गरेको तानसेन अहिले आफ्नो पक्षमा ल्याउन सफल भएको गठबन्धनका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । उहाँले यो जित कुनै पार्टीको नभई नगर भित्रका गरिव, विपन्न, असाहय, वृद्धवृद्धा, युवाहरुको भएको बताउनुभयो । सभापति श्रेष्ठले भन्नुभयो ‘ अब यहाँका नागरिकको जीवनस्तर उकास्नेदेखि तानसेनलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरुलाई आएको छ । सोही अनुरुप काम गर्ने विश्वास समेत लिएको छु ।’ लामो समयसम्म गाउँ गाउँमा गरिबी, अभाव, अशिक्षा, विभेद खेपी रहेका नागरिकहरुको घरका धूरीमा सूर्यचिन्ह झण्डा बाहेक अरु केही हुन नसकेको भन्दै सभापति श्रेष्ठले अब त्यस्ता काम र गतिविधिहरुलाई रोक्न काँग्रेसले सबै पालिकामा आफ्नो नेतृत्व लिने गरी अगाडि बढेको बताउनुभयो । विजयी उत्सवपछिको कोणसभामा बौल्दै नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, दिनेश रावल, नेपाली काँग्रेस तानसेनका नगरसभापति सूर्वमुनी शाक्य, नगर सचिव शैलेन्द्र भट्टराई लगायतले २५ वर्षदेखि तानसेनमा संकलन भएको फोहोरलाई सफा गर्ने दिशामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । लामो समय एउटै पार्टीले शासन चलाउँदा भ्रष्टचार, अनियिमताका कारण तानसेन फोहोर र दुर्गन्धित बन्दै गएकाले अब सफा गर्ने दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको उहाँहरुले बताउनुभयो । उहाँहरुले मानसिकसँगै तानसेनको फोहोर व्यवस्थापनमा समेत ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । सोही अवसरमा नगर प्रमुखमा निर्वाचित सन्तोषलाल श्रेष्ठ, उपप्रमुखमा निर्वाचित प्रतिक्षा सिंजाली र वडा नं १२ बाट निर्वाचित वडा अध्यक्ष मेजरसिं केसीले जनताको चाहाना र निर्वाचनमा गरेका संकल्प अनुसार आफुहरुले काम गर्ने बताए । उनीहरुले तानसेनलाई देशकै नमूना नगरपालिकाका रुपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । तानसेनमा १४ वटा वडा मध्ये गठबन्धनले १० र नेकपा एमालेले ४ वटा वडामा विजयी हासिल गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?