तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

Read Time = 3 mins

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी हुनुभएको हो ।

उहाँले २४ हजार ३९६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गर्नुभयो । ७६५ मतको अन्तरले खाण विजयी हुनुभयो ।

उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

कांग्रेसका रुपन्देही जिल्ला सभापतिसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सातसय मतान्तरले पराजित हुनुभएको थियो । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्रसमेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुखसहित १३ वडाअध्यक्ष जितेको थियो ।

यसपटक भने कांग्रेसले नौ र एमालेले सातवटा वडाअध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?