अन्तिम खेलमा म्याड्रिडको बराबरी

Read Time = 3 mins

म्याड्रिड । रियल म्याड्रिडले स्पेनिस ला लिगामा यस सिजनको अन्तिम खेलमा बराबरी खेलेको छ । च्याम्पियन बनिसकेको रियलले घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरी खेल्दै सिजनको अन्त्य गरेको हो ।

सान्टियागो बर्नबेउमा बिहीबार राती भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो नतिजासँगै रियलले ३८ खेलबाट ८६ अंक जोड्यो । यो सिजनमा उसले २६ खेलमा जित, आठ बराबरी र चारमा हारको नतिजा निकाल्यो । रियलले यो सिजन ला लिगामा स्पान्योल, गेटाफे, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँग हार बेहोर्‍यो ।

अन्तिम खेलमा च्याम्पियन रियललाई बराबरीमा रोक्न सफल रियल बेटिसले पाँचौँ स्थान पक्का बनायो । योसँगै उसले अर्काे सिजनको युरोपा लिग खेल्ने पक्का गरेको छ ।

यस्तै अन्तिम खेलमा रायो भालेकानोलाई चार/दुईले पराजित गरेको लेभान्टे रेलिगेसनमा पर्‍यो । लेभान्टेले ३८ खेलबाट ३५ अंक जोड्दै १९औँ स्थानमा रहृयो । पराजित रायो भालेकानो ४२ अंक जोडेर १२औँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

रोमाको जित
रोमाले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई ३-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले एक गोल थप्नुभयो । खेलको ३३औँ मिनेटमा ट्याम्मीको गोलबाट रोमाले सुरुवाती अग्रता लियो । ४२औँ मिनेटमा ट्याम्मीले पेनाल्टीमार्फत् गोल गर्दै रोमाको अग्रता दोब्बर पार्नुभयो । ७८औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले पेनाल्टीमा गोल गर्दै रोमाको सानदार जित पक्का गर्नुभयो ।

टोरिनोविरुद्ध दुई गोल गरेसँगै ट्याम्मी इटालियन सिरी ‘ए’ मा एकै सिजन सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बन्नुभएको छ । इंग्लिस क्लब चेल्सी र एस्टन भिल्लाका पूर्वफरवार्ड ट्याम्मीले सिरी ‘ए’ मा यो सिजन १७ गोल गर्न सफल हुनुभयो ।

यो जितसँगै रोमा छैटौँ स्थानमा रहँदै अर्काे सिजनको युरोपा लिगका लागि छनोट भएको छ । रोमाले ३८ खेलबाट ६३ अंक जोड्यो । टोरिनो ५० अंक जोडेर ११औँ स्थानमा रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?