भरतपुरमा मतगणना एक लाख पुग्न लाग्दा ८७५६ मतले रेणुको अग्रता

Read Time = 3 mins

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गर्नुभएको छ ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गर्नुभएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आउनु भएकी दाहाल सुवेदीभन्दा आठ हजार ७५६ मतले अगाडि हुनु हुन्छ। अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको पुरै मत गन्न बाँकी छ ।

कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना देखिँदैन । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाउनु भएको छैन । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याउनु भएको छ । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोक्नुभएको देखिन्छ ।

मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । २२ नम्बर वडाको मत गणना भइरहँदा माओवादीले एउटा मात्रै वडा जितेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?