स्याङ्जा जिल्ला अस्पतालमा एउटा ‘ब्लड ब्याग’ छैन, सुत्केरीको धन्न ज्यान गएन

हिमालय टाइम्स
Read Time = 10 mins

युवराज पौडेल/हिटा
स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा एउटा पनि ‘ब्लड ब्याग’ नपाएर स्याङ्जा अर्जुन चौपारी-१ दारेगौँडा कि २९ वर्षीया रेखा गौतम दर्जीले पाँच घण्टासम्म अस्पतलाको बेडमा छटपटाउनुपर्‍यो । गर्भवती भएबाटै त्यहीँ जिल्ला अस्पतालमा निरन्तर स्वास्थ्य परीक्षण गरिरहेकी रेखालाई डाक्टरले जेठ १२ गते ‘डेट’ दिएको भए पनि जेठ ४ गते उनलाई प्रसव वेदनाले छुन्छ ।

कालीगण्डकी गाउँपालिका-४ माइत भएकी रेखा जेठ ४ गते भने अर्जुनचौपारीको घरमा हुन्छिन् । उनलाई ४ गते बिहान अस्पताल पुर्‍याइन्छ । सोही दिन साँझ ७ बजेतिर रेखाले छोरी जन्माइन् । ५ गते दिउसो ११ः३० मा उनलाई अस्पतालले अवस्था ठिकै भएको भन्दै डिस्चार्ज गरिदिन्छ ।

डिस्चार्ज भएपछि रेखालाई उनको माइती बुबा र श्रीमान् लगायतले अर्जुनचौपारी गाउँमा लैजान्छन् । ५ गते रातिबाट उनलाई एकदमै पेट दुख्न थाल्छ । ढाड करकरी खान्छ । लगातार रक्तश्राव हुन थाल्छ । पीडाले रेखा रुन थाल्छिन् । श्रीमान् अत्तालिएर धामी खोज्न जान्छन् । उनको यौनाङ्गबाट मासुको चौटासमेत खस्छ । बिहान ६ बजेतिर बिहान हेलु अस्पताल लगिन्छ । नर्सहरूले परीक्षण गर्छन् । परीक्षणपछि रेखाको पाठेघरमा सालको टुक्रा वा मासुको भाग अड्केको हुन सक्ने देखिएकाले उनलाई तुरुन्तै स्याङ्जा जिल्ला अस्पतालमा लैजान सुझाव दिन्छन् ।

त्यसपछि रेखालाई पुनः स्याङ्जा जिल्ला अस्पतालमा लगिन्छ । रातभरिको रक्तश्राव र पीडाले शिथिल भएकी रेखाले छोरीलाई दूध चुसाउन सक्ने हालतमा पनि हुन्नन् । छोरीलाई घरमै राखेर रेखालाई मात्र अस्पताल ल्याइएको हुन्छ । जिल्ला अस्पताल स्याङ्जामा उनलाई ११ बजेतिर ल्याइपुर्‍याइन्छ । अस्पतालमा उनको पुनः स्वास्थ्य परीक्षण गरिन्छ । परीक्षण गरेपछि मासुको टुक्रा वा अन्य केही भाग झिल्ली अड्केको ठहर गरी मेसिनद्वारा सफा गरेर फालिन्छ ।

त्यसपछि डाक्टरले बिरामीको अवस्था कमजोर भएकाले दुई वटा पोका रगत तुरुन्त खोज्न भन्छन् । रेखाको ‘ए पोजेटिभ’ रगत भएकाले उक्त रक्त समूह मिल्ने परिवार र आफन्तको खोजीमा उनीहरू लाग्छन् । कालीगण्डकीको बिर्घामा भएका रेखाका भाइ र बुबा हस्याङफस्याङ गर्दे अस्पताल आइपुग्छन् । दुवैको रगत परीक्षण गर्दा भाइको मात्र ‘ए पोजेटिभ आउँछ’ । त्यसपछि भाइको एक जना ‘ए पोजेटिभ’ भएको साथीलाई पनि बोलाएर ल्याइन्छ । रगत दिन ‘डोनर’ तयार हुन्छन् । बिरामी रगतको प्रतीक्षामा हुन्छिन् । डाक्टर पनि तम्तयार हुन्छन् ।

सबै तयारी हुन्छ । तर, रगत जम्मा गर्नका लागि रगत जम्मा गर्ने ‘ब्लड ब्याग’ अस्पतालमा हुँदैन । अस्पतालमा खोज्दा एउटा पनि ‘ब्लड ब्याग’ पाइँदैन । त्यसपछि अस्पतालले जहाँबाट भए पनि ‘ब्लड ब्याग’ खोजेर ल्याउने आश्वासन बिरामीका परिवारलाई दिन्छ । बिरामीको अवस्था क्षण क्षणमा कमजोर र नाजुक भएको हुन्छ ।

बिहान १२ बजे रगत तुरुन्तै चाहियो भनेको अस्पतालले बेलुका ६ बजेसम्म पनि एउटा ‘ब्लड ब्याग’ ल्याउन नसकेपछि रगत दिन तयार भएका बिरामीका भाइ र अर्का आफन्तसहित सबै परिवार बिलखबन्दमा पर्छन् । जसरी पनि ‘ब्लड ब्याग’ ल्याउने भनेका अस्पतालका डाक्टर र नर्सहरू आ–आफ्ना अन्य काममा व्यस्त हुन्छन् । डाक्टर नारायणबहादुर गोदार भन्छन्, ‘त्यो दिन हामी अर्को एउटा क्रिटिकल अपरेसनमा लगभग चार घण्टा थिएटरमा बस्नुपर्‍यो ।’

साँझसम्म पनि ‘ब्लड ब्याग’ ल्याउन नसकेपछि डाक्टर र अस्पताल पशासनले रेखा गौतम र उनको परिवारलाई पोखरा जान भन्छन्, जतिबेला बिरामीको अवस्था एकदमै कमजोर भइसकेको हुन्छ । रेखालाई पोखरा लैजान एम्बुलेन्सको खोजी गरिन्छ । अस्पतालमै अर्को एउटा भर्खर जन्मेको बच्चालाई पनि ‘इमर्जेन्सी’ पोखरा लानुपर्ने हुन्छ ।

रेखा गौतमका बुबा विजय गौतमले मानवता देखाउँछन् । आफ्नी छोरीको भन्दा भर्खर जन्मेको बच्चालाई एम्बुलेन्समा प्राथमिकता दिऊँ भनेर आफ्नी छोरीलाई ‘वेटिङ’ मा राख्छन् । एकछिनपछि रेडक्रसको एम्बुलेन्स ल्याएर रेखालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भर्ना गरिन्छ ।

पोखरामा पनि डाक्टरहरुले साल अड्केको समस्याकै कारण यस्तो भएको भनेर परिवारलाई बताएको रेखाका बुबा विजय गौतम दर्जीले बताए । उनले भने, ‘हामी अलिकति बुझेका मान्छेलाई त अस्पतालमा यस्तो व्यवहार गरिन्छ भने अरु सर्वसाधारण बिरामीको हालत के होला ?’

उनले थप भने, ‘सदरमुकाममा रहेको जिल्ला अस्पतालको व्यवस्थापन देख्दा अचम्म लाग्यो । त्यहाँका नर्सहरूको बिरामी र बिरामीका कुरुवाप्रतिको व्यवहार रुखो थियो । उनीहरूमा उत्तरदायित्व नै देखिएन ।’ उनले थप भने, ‘मेरी छोरीको ‘ब्लड ब्याग’ समयमा नपाएर ज्यान गएको भए त्यसको जिम्मा कसले लिन्थ्यो ? धन्न भगवान्ले जोगाउनुभयो । यो सरासर स्वास्थ्यमाथिको खेलवाड हो ।’ सामान्य अवस्थामा सुत्केरी भएकी छोरीले डाक्टरकै लापरबाही र अस्पतालको कमजोरीका कारण अनावश्यक दुःख पाएकी र धेरै पैसासमेत खर्च भएको भन्दै उनले दुःखेसो व्यक्त गरे । उनले भने, ‘धन्न छोरीको ज्यान गएन । मेरी छोरीको जस्तो हालत अरु कुनै नागरिकले भविष्यमा बेहोर्नु नपरोस् भनेर सामाजिक सञ्जालमा पनि पीडा पोखेको हो ।’

सुत्केरी रेखाले भनिन्, ‘अस्पतालका कारण बढी दुःख पाइयो । कति दुःख भयो त्यसको हिसाबै छैन । धन्न बाँचियो ।’ उनका श्रीमान् हिमेक्स परियारले भने, ‘रातभरि रक्तश्राव भएर श्रीमतीको ज्यानै जान्छ कि भन्ने पिरले निदाउन पाइन । अस्पतालले सब ठिक छ भनेर घर लैजान भनेर ल्याइयो तर मासुको टुक्रा नै बाहिर पुरै निकालिएको रहेनछ ।’

यस विषयमा जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष इन्द्र गोदारलाई सम्पर्क गर्दा उनले मानवीय त्रुटि भएको हुन सक्ने बताए । उनले नियतबस केही नगरिएको बताउँदै छिटै ब्लड बैङ्क सञ्चालन गर्ने आफूहरूको सोच रहेको र ब्लड बैङ्क सञ्चालनमा आएपछि यस किसिमका समस्याहरू समाधान हुने पनि बताए ।

त्यस्तै अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सचिन रानाभाटले डाक्टरले प्राविधिक कुरामात्र गर्ने र ‘ब्लड ब्याग’ लगायतका व्यवस्थापनका पक्ष व्यवस्थापनकै कुरा रहेको बताए । अस्पतालमा ‘ब्लड ब्याग’ नभएर बिरामी अन्यत्रै पठाउनुपर्ने स्थिति दुःखदायी भएको पनि रानाभाटले बताए ।

अस्पतालका अर्का फेमिली फिजिसियन डाक्टर नारायणबहादुर गोदारले रेखा गौतमको बच्चा जन्मेपछि गरिएका परीक्षणमा प्रेसर, सुगर, मुटुको चाल लगायतका अवस्थाहरू उपयुक्त देखिएकाले डिस्चार्ज गरिएको भए तापनि सालसँगै जोडिएको पातलो झिल्लीको लेयर बाँकी रहेकाले त्यस्तो समस्या भएको र मेसिनद्वारा उक्त लेयर सफा गरिएको बताए । उनले भने ‘खतरामुक्त भएकाले नै हामीले डिस्चार्ज गरेको हो । कतिपय अवस्थामा केही प्रतिशतमा यस्तो समस्या कहिलेकाँही देखिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?