बोधित र वियंकालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो हुनुभएको हो ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपिएफका रुविन महर्जनलाई ११-६, ११-९ र ११-६ को सोझो सेटमा पराजित गर्नुभयो । एजिएका हिमाल विष्ट र नेपाल प्रहरीका धनञ्जय दाहालले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्स फाइनलमा वियंकाले आर्मीकी दिया देउलालाई सिधा सेटमा ११-७, ११-३ र ११-६ ले हराउनुभयो । आदर्श विद्या मन्दिर (एभिएम) की आश्मा पहरी र काठमाडौंकी इना डंगोल तेस्रो हुनुभयो ।

प्रतियोगितामा भेट्रानसहित विभिन्न आठ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि काठमाडौंका चन्दन शाही र ५० वर्षमाथि एलडिटिटिएका राजेन्द्र बज्राचार्य पहिलो हुनुभएको थियो । यु-१२ सिंगल्सको ब्वाइजमा एभरेस्टका आर्यन शाही र गल्र्समा प्रहरीकी शुभश्री श्रेष्ठ तथा क्याडेट सिंगल्सको ब्वाइजमा सुनसरीका सिद्धार्थ तामाङ र गल्र्समा एपिएफकी इभाना थापा मगरले पहिलो स्थान हात पार्नुभएको थियो ।

जुनियर सिंगल्समा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच÷पाँच हजार नगद पुरस्कार हात पार्नुभयो । अन्य ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५००÷दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनुभयो ।

ब्वाइजमा गोड स्पिनका रिवान बज्राचार्य, ललितपुरका रिजन शाक्य र एमआइएसका विशाल थापा उदीयमान खेलाडी घोषित हुनुभयो । गल्र्समा एएनएस १९८० की अंकिता बज्राचार्य, अरुणीकी इच्छा चापागाईं र माउन्ट भ्यालीकी आशिका कासिछ्वा उदीयमान खेलाडी बन्नुभयो ।

विजेतालाई काठमाडौं महानगरपालिका-७ का अध्यक्ष कुलबहादुर महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्य, टेबलटेनिसकी आठपटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ, टेबलटेनिसकै ६ पटकका राष्ट्रिय च्याम्पियन अमन चित्रकार, स्व. मिलन श्रेष्ठका परिवारलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा २५० खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?