फेरि अर्को पक्सको खतरा

हिमालय टाइम्स
Read Time = 6 mins

संसार कोरोनाको महामारीबाट तंग्रिँदै छ । यसको संक्रमण सकिएकै छैन । केही ठाउँमा अझै कोरोनाको संक्रमण देखापरिरहेकै छ । संसारमा तहल्का मच्चाएर हाल केही कम भएको छ । यसबाट संसारमा धेरै मानिसले ज्यान गुमाए । नेपालमा पनि कोरोनाले धनजनको ठूलो क्षति गरायो । मानिसहरूको व्यापार-व्यवसाय धराशही भयो । हाल संसारले यसको खोप आविस्कार गर्‍यो र धेरै मानिसले खोप लगाउन पाए । नेपालमा पनि अधिकांश मानिसले खोप लगाइसकेका छन् । यसको प्रभाव हाल कम छ तर यसो भन्दैमा यो निष्प्रभावी भएको छ भन्ने होइन । कोरोनाका केही बिरामी फेला परिरहेकै छन् । खोप लगाउन नपाएकाका लागि कोरोना अझै खतराको रूपमा रहिरहेकै छ ।

संक्रमण समाप्त नहुँदै पुनः अर्को भाइरसबाटै हुने महामारी देखापरेको छ । ‘मंकिपक्स’ नामको उक्त महामारीका बिरामीहरू विश्वका विभिन्न १५ वटा देशमा देखापरेका छन् । यस्ता देशहरूमा विकसित देशहरू पनि छन् । अन्य विभिन्न देशमा यो संक्रमण फैलिसकेको अनुमान गरिएको छ । विश्वका ५० वटा देशहरूमा फैलिएको आशंकामा अनुसन्धान गरिँदै छ । संयुक्त राष्ट्र संघको स्वास्थ्यसम्बन्धी नियमक निकाय विश्वस्वास्थ्य संगठनले सबैलाई सावधान रहन निर्देशन दिएको छ । हालसम्म यसबाट कसैको ज्यान नगएको भए तापनि संक्रमणका कारण रोग लागेकामध्ये प्रतिदश जनामा एकजनाको ज्यान जानसक्ने सम्भावना रहेको जनाइएको छ । संसारमा कुनै प्रकारको संक्रमण देखिनासाथ नेपाल त्यसबाट अछुतो रहनसक्ने सम्भावना रहँदैन ।

नेपालले पनि सावधानी अपनाउनुपर्ने हुन्छ । रोग लागिसकेपछि उपचार गराउनुभन्दा लाग्नै नदिनेतर्फ सचेत रहनु उपयुक्त हो । यही सिद्धान्तका आधारमा नेपाल सरकारले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । सावधानीले मात्र नभएर कुनै प्रकारले यस रोगको प्रवेश नेपालमा भयो भने के गर्ने भन्ने हालैदेखि तयारी अवस्थामा रहनुपर्ने हुन्छ । कोरोनाको समयमा जसरी सरकार हतासिएको मानसिकतामा रहने र कमिसनका लागि कसरी बाटा सिर्जना गर्न सकिन्छ भनेर हेर्ने हो भने तत्कालीन नेकपा एमालेको सरकार जसरी नै बद्नाम हुनुपर्ने अवस्थाको सिर्जना हुन्छ । सरकार निष्पक्ष र निःस्वार्थ भावमा रहेर जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्छ । जनताले पनि यस्ता संक्रमण वा महामारीबारे जानकारी राखेर सचेतता अपनाउनुपर्ने हुन्छ ।

मंकिपक्स के हो ? कसरी लाग्छ भन्ने जानकारी राख्न यसका लक्षण र रोकथामबारे थाहा पाउनु आवश्यक छ । ज्वरो आउने, टाउको दुख्ने, ढाड, टाउको र मांसपेसी दुख्ने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकाइ महसुस हुने, जीउ सुन्निने जस्ता लक्षण देखापर्छन् । यी र यस्ता लक्षण आपूmमा देखापरे आवश्यक परीक्षण र परामर्शतिर लाग्नुपर्ने हुन्छ । मानव शरीर यसै रोगको घर हो, बेलाबेलामा केही न केही रोग लागिरहन्छ । नसर्ने रोगहरू बिरामीका लागि खतरनाक मानिन्छन् भने सर्ने रोग सबैका लागि खतरनाक हुन् । त्यसैले सचेत त हुनुपर्छ नै ।

आफूमात्र सचेत भएर होइन आफूलाई यस्ता लक्षण देखिना साथ सम्पर्कका अरूलाई समेत सुरक्षित गर्न आवश्यक हुन्छ । भाइरस प्रभावित रोग भएकाले संंक्रमण फैलनसक्ने सम्भावना तीव्र हुने हुनाले रोग लाग्नासाथ समुदायलाई जानकारी, सूचनाको सहयोग पुर्‍याउनु बुद्धिमत्तापूर्ण हुनजान्छ । यस्तो अवस्थाका बेला नागरिक सचेचताकोे महत्व भूमिका रहन्छ । नागरिक सचेत रहने हो भने सरकारलाई समेत मार्गनिर्देशन गर्न सक्छन् । नागरिकले लापरबाही गर्नाले, संक्रमणलाई खेलाची ठान्नाले, लुकाउने र सार्वजनिक नगर्नाले व्यक्तिका लागि हानिकार बन्छ नै साथै सरकारका लागि समेत टाउको दुखाइको विषय बन्न जानेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?