नेपाल टी-२० लिग खेल्ने टोलीको नाम सार्वजनिक

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगका ६ टोलीको नाम सार्वजनिक गरिएको छ । क्यानको बोर्ड बैठकले नेपाल टी-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवामध्ये एक हुने गरी ६ टोली रहने जानकारी दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को ड्रिम प्रोजेक्टका रूपमा रहेको नेपाल टी-२० क्रिकेट लिग आगामी असोज ८ गतेदेखि कातिक ५ गतेसम्म सञ्चालन हुनेछ । भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँगको सहकार्यमा क्यानले लिग आयोजना गर्न लागेको हो । लिगको रणनीतिक र कर्मसियल साझेदारीका रूपमा सेभेन थ्रीस्टार रहनेछ । क्यानले यसअघि नै सेभेन थ्रीस्टारसँग आठ वर्षका लागि ३३ करोडमा लिगको अधिकार बेचिसकेको थियो ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउन्ड रोबिनका आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ ।

प्रतियोगिताबाट ‘ए’ ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि क्यानले खेलाडीलाई तीन ग्रेडमा विभाजन गरेको छ । ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउनेछन् ।

त्यस्तै क्यानको बैठकले नेपालमा सञ्चालन हुँदै आएका एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्यता नदिने भएको छ । क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै धन्यवादसहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको हो । इपिएलसहित तीन फ्रेन्चाइज लिगले क्षेत्रीय संरचनामा भने आयोजना गर्न अनुमति दिन सक्ने जनाएको छ ।

इपिएलका आयोजक तथा टोलीका सञ्चालकहरूले अहिलेसम्म नेपाली क्रिकेटमा ठूलो लगानी गरेको भन्दै आफूहरूले पनि मान्यता पाउनुपर्ने उल्लेख गरेका थिए । पत्रकार सम्मेलन नै गरेर इपिएलका आयोजक र टोली सञ्चालकहरूले राखेको उक्त कुराप्रति क्यानले ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले प्रेस विज्ञप्ति जारी गर्दै इपिएलको भनाइ धम्कीपूर्ण रहेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘इपिएल सञ्चालकले एक कार्यक्रम आयोजना गरी नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिकरूपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उपरोक्त गैरजिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको संघले खेद प्रकट गर्दछ । यस प्रकारका भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालाहरूलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

खेलाडीको तलब वृद्धि
यस्तै क्यानको बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तलब वृद्धि गरेको छ । क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाएको छ । यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब बढेको तलब अनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै महिलातर्फ क्यानले ‘सी’ ग्रेडमा रहने खेलाडीको पाँच हजार, ‘ए’ र ‘बी’ ग्रेडमा रहने खेलाडीको ६ हजारका दरले बढाएको छ । यसअघि ‘सी’ ग्रेडका महिला खेलाडीले १० हजार पाउँदै आएका थिए भने अब १५ हजार पाउने भएका छन् । ‘बी’ ग्रेडका खेलाडील १२ हजारको दरले पाउँदै आएका थिए भने अब १८ हजार पाउनेछन् ।

यस्तै ‘ए’ ग्रेडमा रहने खेलाडीले यसअघि १५ हजार पाउँदै आएका थिए भने अब २१ हजारका दरले पाउनेछन् । क्यानले मैदानका सम्पूर्ण कर्मचारीहरूको तलब तीन हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगीको मासिक पाँच हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारका दरले बढेको छ ।

२०२२ को केन्द्रीय खेलाडी सम्झौताको पुरुषतर्फ ‘ए’ ग्रेडमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी, ‘बी’ ग्रेडमा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अभिनाश बोहरा र विनोद भण्डारी हुनुहुन्छ । यस्तै ‘सी’ ग्रेडमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ हुनुहुन्छ ।

यसैगरी महिलातर्फ ‘ए’ ग्रेडमा रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी हुनुहुन्छ भने ‘बी’ ग्रेडमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे र ‘सी’ ग्रेडमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?