चालिस घरधुरीलाई एउटा धारो, पानी आउँदा सधैँ किचलो

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

राधिका बुढाथोकी/हिटा
सिन्धुली । जेठको चर्को घाँम, उफरमाउलो गर्मी थियो । पानी विनाको धारोमा रित्ता गाग्री थिए । ग्यालिन, बोतल र अन्य भाँडाहरू पानीको पर्खाइमा तातिएका थिए । पशुचौपाया प्यासले छट्पटिएका थिए । सिंगो बस्तीका मुसहर परिवार तिर्खाएका थिए । बिहीबार मध्यान्ह १२ बजे देखिएको दृश्य हो यो, दुधौली नगरपालिका-७ पोखरेको । जहाँ, ४० घरधुरीमा मुसहर परिवार बसेका छन् ।

गंगा सदा यस ठाउँमा विवाह भएर आउनुभएको ११ वर्ष भयो । विवाह गरेको वर्ष जति थपिँदै जान्छ, त्यति नै पानीको समस्या बढ्दै गएको उहाँले हिमालय टाइम्ससँग बताउनुभयो । ‘नजिकको इनारमा पानी सुकेको छ । धारामा कहिले पानी आउँछ, कहिले आउँदैन । आएको दिन पनि छोटो समय मात्र आउँछ, पर्याप्त पानी भर्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘सुत्केरी भएको ११ दिनमा खोलाको पानी बोकेर खाएकी छु ।’

घरबाट खोलामा पुगेर पानी ल्याउन एक घण्टा लाग्ने उहाँले बताउनुभयो । हप्तादिन अघि मात्र टाउकोमा बोेकेर ल्याएको पानी घरनजिक आएपछि ठेस लागेर पोखियो, गाग्री कुचिएर पानी ओसार्न नमिल्ने भयो । ‘टाढा र अँध्यारो पनि भएकाले एक्लै पानी लिन जान सकिनँ । साँझको खाना पकाउन पानी पुगेन, त्यतिकै सुत्यौँ,’ उहाँले दुखेसो सुनाउनुभयो । खोला र खोल्सामा पानी लिन जाँदा कहिलेकाहीँ दुई/तीन वटा सर्पले एकैपटक लखेटेको उहाँले बताउनुभयो ।

६० वर्षीया मयावती सदा रोगी हुनुहुन्छ । खुट्टाको हड्डी खिएर दुख्ने भएकाले यताउता हिँड्डुल गर्न सक्नुहुन्न । सुगर, प्रेसर र अन्य रोगले थलिनुभएकाले टाढाबाट खानेपानी बोकेर ल्याउन सक्नुहुन्न । घरनजिकै भएको धारोमा आएको पानी थाप्न नपाउँदा वा नपुग्दा भोकै प्यासै बस्ने गरेको सुनाउनुभयो ।

यस्तै, मुसहर समुदायकी अगुवा आशा सदाले पानीको धेरै समस्या भएको बताउनुभयो । ‘४० घर परिवारको लागि दुई/तीन घण्टा पानी आउने एउटा धारो छ । यसले मान्छेलाई पिउनै पुग्दैन । नुहाइधुवाइ, सरसफाइ र सुँगुर, बाख्रालगायत पशुचौपायाको लागि खोला र खोल्सामा पानी खोज्न हिँड्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सबैको घरघरमा चर्पी बनाइएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । तर, यहाँका स्थानीयवासी पानी नभएर दिसापिसाब गर्न जंगल धाउन बाध्य छन् । सदा भन्नुहुन्छ, ‘पानीको अभावले सरसफाइ गर्न नसक्दा स्थानीयवासीलाई झाडापखाला लागिरहन्छ । बिरामी भइरहन्छन् ।’ घण्टौँ लगाएर ल्याएको खोला र खोल्साको पानी पिउन योग्य नभएको उहाँको भनाइ छ ।

खानेपानीको दुःख भएको लहिरी सदाले बताउनुभयो । उहाँका अनुसार धारोमा पानी आउँदा झगडा मात्र हो र पिटापिट हुन्छ, टाउको फुटाफुट नै हुन्छ । ‘पानी चाहिएको हुन्छ । पानी थाप्दाथाप्दै सुकिदेला वा भर्न नपाइएला भनेर सबैलाई पानी थाप्न हतार हुन्छ,’ उहाँले भन्नुभयो, ‘धारोमा पानी आएको बेला झगडा नै पर्छ । गाग्रीहरू कति फुटे, कति कुचिए । कतिले त जरिवानासमेत तिरेका छन् ।’

नेपालको संविधानले स्वच्छ पिउने पानी पाउनु नागरिकको मौलिक हकको रूपमा व्याख्या गरेको छ । तर, यहाँका नागरिकहरूले त्यसको उपयोग गर्न पाएका छैनन् । सरकारले खानेपानीको व्यवस्था गरिदिनुपर्ने मुसहर समुदायको माग छ । ‘एक घर एक धारा’ तीन वटै सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन् ।

दुधौली नगरपालिका प्रमुख (मेयर) दिनेश अधिकारीले सरकारको नीति तथा कार्यक्रम ‘एक घर एक धारा’ लाई कार्यान्वयनमा जोड दिने बताउनुभयो । ‘यसका लागि आवश्यक परामर्श तथा तयारी गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘समस्या कति भूगोल, समुदायमा छ, यसको सम्भाव्यता अध्ययनका साथै डिपिआर तयार गरी जतिसक्दो छिटो खानेपानी सम्बन्धमा नगरभित्र देखिएका समस्याहरू समाधान गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?