जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट

Read Time = 4 mins

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको फिल्मलाई आयोजकले दुई लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

दर्शकले पनि मत दिन गरी प्रतियोगितामा सहभागिताका लागि आएका ५६ फिल्ममध्ये २० फिल्मलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएका थिए । यसरी दर्शकको ५० प्रतिशत अंकभार र जुरीको ५० अंकभार जोडी चार विजेता छनोट गरिएको हो । जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो भएको थियो भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ले तेस्रो स्थान हासिल गरेको थियो । शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजेता चार फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मूलनका उपाय समेटिएका कथा तीन मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए । कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छान्नुभएको थियो । प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, युएनडीपी राष्ट्र प्रमुख अस्यानी मेडागनगोडा लेबे, वरिष्ठ चलचित्रकर्मी नीर शाह र कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा बोल्दै युएनडीपी राष्ट्र प्रमुख अस्यानी मेडागनगोडा लेबेले यस्ता कार्यक्रमले जातको नाममा हुने भेदभावविरुद्ध जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?