कलैयामा रहेको घण्टाघरको घडी फेरिने, मर्मतको काम सुरु

हिमालय टाइम्स
Read Time = 6 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । २० वर्षपछि स्थानीय निकायको चुनाव भयो । सबै स्थानीय तहमा जनताले चुनेका जनप्रतिनिधिहरू आए । विकासको मूल फुटाउने उद्देश्य लिएर स्थानीय तहको चुनावमा जनताहरूले पनि उत्साहित भएर भोट खसाले । आफूले राजेको खोजेको जनप्रतिनिधि आएपछि मतदाता पनि उत्साहित भए । तर, जनप्रतिनिधिहरूले आफूले गरेका वाचा बिर्संदा अवस्था ज्यूँका त्यूँ बन्यो । जनप्रतिनिधिहरूले विकासको वाचा विर्सेकै कारण कलैया भरतचौकस्थित घण्टाघरको घडीमा साढे दुई बजेको सुई जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा पनि अगाडि बढ्न पाएको थिएन । बल्लतल्ल पाँचौँ वर्षको अन्त्यतिर स्थानीय तहको निर्वाचन हुनुभन्दा केही दिन अगाडिदेखि घण्टाघरको रंगरोगन मर्मत सम्भार सुरु भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका कलैया उपमहानगरपालिको भरतचौकस्थित घण्टाघरको घडीमा अहिले पनि साढे दुईभन्दा बढी बज्न सकेको छैन । जिल्लाको पहिचान झल्काउने यो घण्टाघरको घडी निर्माण भएको केही दिनसम्म चल्यो तर बन्द भएपछि यसको मर्मत सम्भार हुन सकेको थिएन ।

जनताद्वारा निर्वाचित जनप्रतिनिधि आएपछि यसको मर्मत सम्भार होला र फेरि घण्टाघरको घडी गतिमान होला भनी आफूहरूले आस गरेको घण्टाघर नजिकै मिठाई पसल सञ्चालन गर्दै आउनुभएका सुरेश साहले गुनासो गर्नुभयो । तर कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले आफ्नो पदावधि समाप्त हुनु भन्दा केही समय अगाडिदेखि घण्टाघरको मर्मत सम्भार र रंगरोगनको काम सुरु गर्नुभएको छ । जे होस् कमसे कम पाँचाँै वर्षको अन्तिम समयमा आएर मेयर साहेबको आँखाले घण्टाघरलाई देखेछ र काम सुरु भएको छ । २०७८ सालको फागुन महिनामा टेण्डर आ≈वान गरी घण्टाघरको रंगरोगन मर्मत सम्भारका साथै घडीसमेत परिवर्तन गर्ने गरी ठेक्का दिइएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी दिनुभयो ।

तत्कालीन मेयर राजेश राय यादवको पहलमा आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा रंगरोगन मर्मत सम्भारदेखि घडीसमेत परिवर्तन गर्ने गरी टेण्डर आ≈वान गरी ठेकेदारलाई निर्देशनसमेत गरिएको उहाँले बताउनुभयो । १९ लाख पचास हजारको लागतमा घडी रंगरोगन मर्मत सम्भार घण्टीलगायत लगाउने गरी सुमन निर्माण सेवाले ठेक्का साकार गरेको उहाँले जानकारी दिनुभयो ।

फागुन महिनामा टेण्डर आ≈वान गरी चैत्र महिनामा ठेकेदारले टेण्डर सकार गरी अहिले मर्मत सम्भारको काम तीव्र गतिमा अगाडि बढेको छ, प्रमुख साहले भन्नुभयो, ‘ठेकेदारले यो आर्थिक वर्षको अन्त्य सम्ममा सबै काम सिध्याउने गरी ठेक्का सकार गरेको र रंग रोगनको काम पनि लगभग सम्पन्न हुन लागेकाले यही आर्थिक मसान्त भित्रमा घण्टाघरको सम्पूर्ण काम पूरा हुनेछ ।’ यसपालि घण्टाघरको मर्मत सम्भार मात्र होइन राम्रो खाले घडी डिजिटल लाइटसमेत घण्टाघरमा लगाइने भएकाले पहिलाको भन्दा घण्टाघर झन् आकर्षक हुने प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो ।

यता, सुमन निर्माण सेवाका प्रोपाइटर धीरेन्द्रप्रसाद जैसवालले भ्याटबाहेक १८ लाख ९९ हजार ६४४ रुपैयाँमा घण्टाघरको मर्मत सम्भार रंगरोगन घडी र डिजिटल लाइटको ठेक्का साकार गरेको जानकारी दिनुभयो । उहाँले २०७८ साल चैत्र १५ गते ठेक्का साकार गरेको र अहिले काम पनि सुरु भइसकेको बताउनुभयो । ठेक्कामा घण्टाघरको चारवटै घडी फेर्ने, रंगरोगन, लाइट, लगायतको काम पूरा गरिने बताउनुभयो । २०७९ साल मंसिर मसान्त भित्रमा काम सम्पन्न हुने गरी आफूले ठेक्का साकार गरेको ठेकेदार जैसवालले जानकारी दिनुभयो । ठेक्का साकार गर्दा घण्टाघरको मर्मत सम्भार, रंगरोगन, घडी, डिजिटल लाईटको ठेक्का साकार गरेको तर यसमा अलार्म (अर्थात् घण्टी) नरहेको उहाँले बताउनुभयो ।

लाखौँ रुपैयाँ खर्च गरेर तीन दशक अगाडि निर्माण भएको घण्टाघरको मर्मत सम्भार र रेखदेख हुन नसक्दा घण्टाघर विस्तारै जीर्ण हुँदै गएको थियो । यसको वरिपरि फोहोरको डंगुर रहेको छ । फोहोरले खडा हुनसमेत नसकिने अवस्था रहेको थियो । अहिले स्थानीय तह निर्वाचन समाप्त भएर नयाँ नगर प्रमुखसमेत निर्वाचित भइसकेको अवस्था छ । कलैया उपमहानगरमा नेकपा एमालेका विनोद साह निर्वाचित भएर नगर प्रमुखको रूपमा पदभार ग्रहण गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?