वेद दर्शनको सामिप्यले मानव जीवनमा पारेको प्रभाव

Read Time = 17 mins

✍️ डा. उत्तम खनाल
वेद, जगत हितका लागि बनाइएको सौम्य नीतिशास्त्र हो । यसले पूर्णजगत हितायका लागि मानिस र अन्य प्राणीहरूको पनि कल्याण गर्दछ । त्यही वेदमा यसो पनि भनिएको छ कि मानिसले कहिलेकाहीँ हिंसा पनि गर्नुपर्छ भनेर । तर, हिंसा केका लागि गर्ने र केलाई कसले गर्ने भनेर स्पष्ट किटान गरिएको छैन । केही विद्वानहरूले भनेका छन् : हिंसाको अर्थलाई सही ढंगले व्याख्या गर्न वा गराउन सकिएन भने त्यसको परिणाम भयावह हुन्छ । फलस्वरूप अज्ञानता र अल्पज्ञानका कारण मानिसले आफूबाहेक अन्य सबै प्राणीलाई बध गर्नुपर्छ भन्ने धारणाको विकास गराउन पुगे ।

परिणाम मानिसले आफूबाहेक सारा निर्दोष प्राणीको हत्या गरेर पुण्यकर्म गरेको दाबी गर्न छाडेन र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो । आफ्नो अभिष्ट प्राप्तिका लागि उसजे जे जति चौपाया वा पशुपक्षीहरूको निर्मम हत्या गराउनुको कारण थियो बुझाइमा भएको कमजोरीपन । जो आफूमा आएको कमजोरी र हुंकार थियो अनि जसले ती निर्दोष प्राणीको उदण्ड तवरले जतिलाई भेटे समात्दै काटे अनि आफू अनुकूलका मासुका विभिन्न परिकार बनाएर पनि खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तीको चालबाजीमा हुंकार पनि मच्चाइयो तर निर्दोष आत्माले उन्मुक्ति पाउन सकेन । यी कर्म केवल धर्मका नाममा देवीदेवता भाकल गर्दै पशुपक्षीहरूको आलो रगतमा होली खेलिनु नै ठानियो ।

यहाँ एउटा प्रश्न उठ्छ, के वेदमा लेखेको हिंसाको अर्थ पशुहत्या हो ? के पवित्र ग्रन्थ वेदले पशुहिंसाका लागि मानिसलाई प्रेरित गरिरहेकै हो त ? के हो त वेदले भनेको वास्तविक अर्थ ? के भनिएको छ त वेदबारे मनुश्रुति यसमा ? के अन्य प्राणीभन्दा शक्तिशाली हुनाले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? यी यावत् प्रश्नको उत्तरमा विलकुल त्यस्तो कर्मलाई जोड दिइएको छैन । बरू मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा । अनि वेदले बताए अनुसार हिंसाको अर्थ हो, ‘मानिसमा कुनै बेला यस्तो कुबुद्धिको घमण्डले बास गर्छ यदि यसलाई आफैंले आफैंद्वारा मारिएन भने त्यसको जड मौलाउँदै सारा जगतलाई धमिल्याई दिनसक्छ’ ।

फलस्वरूप आफूभित्र रहेको कुविचार र घमण्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ न त आत्माशान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसीपनको अन्त्य गर अनि मात्र मानव जीवनको अर्थ सार्थक रहन्छ भन्न खोजिएको थियो । तर, यसको ठीक उल्टो अपव्याख्याका कारण मानिसले आफूभित्र भरिएको लालचीपन, घमण्ड, क्लेश, इष्र्या आदिलाई हिंसाद्वारा अन्त्य गराउन सकेन बरू उसले त उल्टै प्राणीहरूको निर्मम तरिकाले हत्या गर्दै जगतमा अशान्ति फैलायो । झगडा एवं कोलाहल मच्चियो र बलियाको अगाडि निर्धाको सत्य विचार पनि झुटा सावित हुँदै गयो ।

जसरी जगत हितका लागि आफ्ना चेलाहरूलाई बुद्धले कहिल्यै झुटा नबोल्नु भनी अर्ति उपदेश दिए तर त्यसको अर्थ यो पनि थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसै कारण बुद्धले स्वयं झुटा बोलेका थिए तर त्यसमा कसैको ज्यान बचाउँन त्यो सत्कर्म चालिएको थियो ।
अतः भावना र विचारहरू सही रहँदारहँदै पनि कहिलेकाहीँ बुझाइमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुनसक्छ । स्पष्ट रूपमा बुझाउन नसक्नु पनि कमजोरी नै हो । अहिलेको संविधानले दलहरूले भने झैं वेदकै नीतिसरह अधिकार स्थापित गराएको भए पनि त्यसको अनुभूति नागरिकले गरेका छैनन् । प्रकाण्ड राजनीतिक विद्वानहरूको सत्तालोलुपता एवं आफू अनुकूलका अपव्याख्या वा अल्पव्याख्याले गर्दा साम्प्रदायिक एकतामाथि आँच आउने गरेका छन् । यसैले होला कुनै एउटा समस्या मत्थर नहुँदै अर्को परिघटनाको रूमाल थापिएको देखिन्छ । कहिलेकाहीँ न्यायालयभित्रैबाट पनि अन्याय भएको कुरा बाहिर आउने गरेको छ ।

आजकाल अमेरिकामा समेत वेद ग्रन्थको अध्ययन अनुशन्धान र अनुसरण गर्ने काम हुँदा नेपालमा भने यसलाई अनादर किन गरिँदैछ भन्ने आवाज उठेको छ । रूस, जहाँ हिन्दुधर्मको व्यापक अध्ययन हुन्छ । भागवत गीतालाई रूसीहरूले नेपालमा आएर नेपालीहरूलाई सिकाउन थालेका छन् । आज तिनै विश्वका हिमायती मानिने राष्ट्रहरूमा मानिसको ध्यान गुम्बा र मन्दिरतर्फ केन्द्रित भएको अवस्थामा मातृभूमिमा तिनीहरूको अस्थित्व संकटमा रहेको देखिन्छ । नेपालीहरूले केवल खान र खुवाउनका लागि देखासिकीमार्फत आफ्नो धर्म, संस्कृत, परम्परा र रीतिरिवाजलाई बेचिरहेका छन् ।

तिनीहरू आफैं हवाला दिन्छन् कि भ्रष्टाचार गरिँदैन भनेर तर जसले भ्रष्टाचार गर्दिन भनेर भन्छन् तिनीहरू नै कमाउन खेतमा व्यस्त छन् । राजनीतिक आकाश पूरै धमिलिएको छ जनताको नजरमा तर हामीले जनताका नाममा धेरै गरिरहेका छौं भनेर तिनै व्यक्तिहरू उफ्रन छाडेका पनि छैनन् । आफ्नै स्वार्थ र आसेपासेमा भासिँदै दलीय भागबण्डाहरू गरेरै भए पनि सरकार सञ्चालित गराउने नियत गएको छैन । नियम र कानुनको जप तिनैले गर्छन् तर शक्तिका आसेपासेलाई त्यो नियम र कानुनले त्यति फरक पार्न सक्दैन ।

नेतृत्व भागबण्डा गएर सीमित पारिन्छ अनि भनिन्छ यो सबैको मेरुदण्डको अन्तिम मेण्डेड हो । चाहे त्यो सरकार बनाउन होस् या पार्टी एकीकरण र लाभको पद बाँडफाँडको सवालमा किन नहोस् । त्यहाँ न त विचारले काम गर्छ न सिद्धान्तले नै । विज्ञताको सवाल भनेको एकादेशको कहानी जस्तै बनेको हुन्छ । विचार र सिद्धान्तको लेखाजोखा गरिँदैन बरू पदीय अधिकारका सवालमा भागबण्डा गराई त्यसमा पनि आफूअनुकूलका निकटतम् व्यक्तिको आवश्यकता बोध गरिन्छ । अहिलेको संघीयताको अभ्यासले दिएका प्रतिफलहरू जनताका नजरमा यस्तै बनेका छन् ।

आममानिसको सवाल कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता भूमिमा सरकारको ध्यान पुग्न सक्दैन । सिमानाकामा विवादित बनेको भूमिको सवालमा विदेशी हस्तक्षेप बढिरहेको अवस्थाप्रति सरकारले आफ्नो धारण खुलेर सार्वजनिक गर्ने हिम्मत राख्दैन । बरु जनतालाई केही गरिए जस्तो देखाउनका लागि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आधिकारिक हस्ताक्षरसमेत गर्न नेपाल सरकार आनाकानी गर्छ । भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक नाकामा छिमेकी देश भारतले उद्घाटन गर्दा त्यसको आधिकारिक जानकारी राख्ने हिम्मत सरकारको हुँदैन । तथापि त्यसको विरोध नेपाली जनताले गर्दा ती व्यक्तिमाथि प्रहरी प्रशासनको पिटाइ तिनै नेपाली जनताले व्यहोर्नुपर्ने यो देशमा मातृभूमिको लाज कसले बचाइदिने भन्ने प्रश्न खडा भएको छ ।

उता देशको सिमाना मिचिँदै जान्छ यता आवाज उठायो भनेर जनताका छोराछोरीले लाठी खान्छन् र राजनीतिलाई रमिताको खेती बनाइँन्छ । आफ्नो सत्ता जोगाउन आफ्नै दलभित्रको लडाइँमा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेको प्रष्टै देखिन्छ । कारण यो पनि हुनसक्छ कि सरकार बनाउँदा आफ्ना धेरै व्यक्तिले नेता हुने अवसर पाएका हुन सक्छन् र योग्यता र योगदानको मूल्यको कदर गरिँदैन । नेता र नेतृत्व लिगलिगको दौड झैं बनेको परिप्रेक्षमा विदेशी चलखेल नेपालमा चरम उत्कर्षका रूपमा बढ्नुलाई कुनै नौलो मानिँदैन । चाहे त्यो सीमा नाकामा हस्तक्षेप होस् या सरकार बाउने र गिराउने अवस्थामा किन नहोस् ।

दौडमा रहेको धावकलाई नियन्त्रणमा लिँदै उसका लागि केही गरिदिए झैं गरिदिनुलाई अबका दिनमा कुनै नौलो परिघटना मानिँदैन । परिणाम जनताका लागि दिइने विकास शब्दभण्डार जस्तै बनेको छ । जसको अर्थ र परिभाषा उनीहरूले बुझ्न सकेका हुँदैनन् । त्यो नै विकासका लागि चालिएको गतिलो औजार बन्दछ भनिएको हुन्छ । सालबसाली बजेटमा साधारण खर्च बढ्दै जान्छ र विकास खर्च तोकिए अनुसार हुन सक्दैन तथापि आर्थिक तरलताको अभाव घट्न सक्दैन । थेग्नै नसकिने संघीयताको आर्थिक भारले गर्दा विदेशी सहयोग र अनुदान मागेर शासन व्यवस्था टिकाउनुपर्ने हालतमा देशलाई दौडाइन्छ ।

उत्पादन खासै गरिँदैन बरू सत्ताको होडबाजी गरेर लाभ लिनेतर्फ दौडिने अभ्यास घटेको छैन । आयातित अर्थ व्यवस्थामा राजनीति चलेकाले कुन बेला आर्थिक संकट आउने हो भन्नसक्ने अवस्था छैन । यस्तो परिपाटीले दिगोविकासको सपना सजाउनुको कुनै सानदार महलभन्दा अतुलनीय नहुन सक्छ । यसतर्फ खासै चासो र चिन्ता बढेको पाइँदैन बरु सत्ता हत्याएर लाभका पदमा कसरी जाने भन्ने चिन्ताले जगडिएको सिंगो राजनीतिले आफैंबाट आफ्नैलाई सिध्याउने चलखेल गरेको सुन्न र देख्न पाइन्छ । यसलाई राजनीतिक बेइमान भन्ने कि इमानदारीता ? प्रश्न आफैंमा गम्भिर भएको छ ।

नेपाली समाज आफैंमा अपार थियो । विविधताभित्रको एकतामा रमाएका जनता आज यो र त्यो को बाहनामा माखेजालोभित्र आफैं अल्झिँदै गरेको देख्दा कतै बाटो बिराएर हिँड्न थालेका त होइन भन्ने लागेको छ । कोभिड-१९ वा कोरोनाले विश्व मानव जगतलाई आक्रान्त बनाएको अवस्थामा विदेशी दबदबाले नेपाल आमाको अपमान गरायो । आफ्नै जीवन संकटको घडीमा रहँदा आमाको आँसु पुछ्ने हातहरूमा मलम रहेन बरू नीला राता डामहरू देखिए । सरकारले कुनै जनता भोकभोकै नमररून् भन्दै गर्दा सयौं जनता सडकमा रासनपानीविना जीवन बाँच्ने आशाले पिरोलिइरहे । तर, यस्तो भयावह अवस्थामा पनि कतिले त राहतको नाममा पर्व मनाएझैँ गरे ।

कोही यस्ता पनि देखिए कि जसले आफूले सकेको सहयोग गर्दै ती दुखेका मनहरूमा मलमपट्टी लगाउनसमेत पछाडि परेनन् । भिन्नता यही देखियो जसलाई सरकारले दिनुभन्यो उसले ती दुखेका मनहरूको नागरिकता हेर्‍यो, परिचय हेर्‍यो र दलसहित आफ्नै क्षेत्रको हो या होइन हे¥यो । तर, जीवन बँचाउने नाउँमा ती सहयोगी हातहरूले दुखेका मनहरूको कुनै परिचय हेरेनन्, हेरे त केवल दैनिक चुलो बलेको छ या छैन भनेर हेरे ।

हो यो दुःखद् घडीले जसले ती पीडामा परेका मनहरूको कुनै परिचय खोजेन र जीवन बचाउन सहयोग गर्दै गयो त्यसले वेदलाई पालना ग¥यो । वेदको मर्म बुझ्यो, धर्म बुझ्यो र आफ्नो कर्म पनि बुझ्यो । जसमा कुनै राजनीति गरेन, धर्म, जात र रंगको विभेद गरेन । त्यो नै सच्चा मानव हो जसले मानव हितका लागि विनास्वार्थ कार्य सम्पादन गरिरहृयो । ती तमाम् मिडियाकर्मीलाई पनि दुखेका मनहरूले कदापि भुल्दैनन् जसले मलमपट्टी लगाउने हातहरूको संयोजन गराउन सके ।

अन्तमा : महर्षि भृगुले जसरी प्राणीहितका लागि वेद तथा विज्ञानको सामिप्य परीक्षण गर्न अध्ययन, योग, दर्शन र वनस्पति अध्ययनको गहिराइ पहिचान गराएका थिए । व्यास ऋषिले पनि वेदलाई सबैले बुझ्ने सरल बनाउन चार भागमा विभाजन गरे । यसका अलावा राजनीतिकर्मीले आफ्ना एजेण्डाहरू कार्यान्ययन गराउँन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेदको नीति अनुसरण गरे केवल सत्तामा पुग्नका लागि मात्र । यस समयमा उचित कार्यबोधसहितको दिशा पहिचान नहुँदा देश विकास त भएन नै आमजनताले महँगीको चाप खेपिरहनुको विकल्प रहेन ।

गरिबका लागि व्यवस्था परिवर्तन हुँदा अवस्थामा कुनै रूपान्तरण भएन केवल बोल्ने कलाको विकास भयो । नेतृत्व वर्गले यसैको घेराभित्र रहेर जातीयताका रूपमा समावेश गराए त कोहीलाई धर्मका नाममा तर हिंसा र वलात्कारका घटनामा कमी आउन सकेन । जात, जाति, धर्म, भाषाभाषी, रहनसहन, संस्कार र भेषभूषा विकासका लागि बदलिँदो व्यवस्थाको वास्तविकता जनता माझ उजागर गराउने नैतिक दायित्व लिन सकेनन् । राजनीतिक दलको अहम दम्भका कारण हाल स्थानीय तहको चुनावमा महत्वपूर्ण पद स्वतन्त्र उम्मेदवारले हात पारेकोमा आमजनताको दलप्रतिको तीतो वितृष्णा हो भनेर बुझेनन् भने भोलिका दिनमा यो अवस्था र व्यवस्था के होला भन्न सकिँदैन ।
(डा. खनाल अर्थराजनीतिक विश्लेषक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?