इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

एजेन्सी । इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले इटालीलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक/एक गोल गर्नुभयो । उसका लागि मेस्सीले दुई गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो । इंग्ल्यान्डको वेम्बली रंगशालामा बिहीबार राती भएको खेलको २८औँ मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलबाट अग्रता बनाएको थियो । लिओनेल मेस्सीको पासमा उहाँले गोल गर्नुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा डी मारियाले अग्रता दोब्बर पार्नुभयो । उहाँले मार्टिनेजको ब्रु बलमा गोल गर्नुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै सहज जित दर्ता गराउनुभयो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौताअनुसार यो खेल भएको हो । उक्त सम्झौतामा दुई फरक देश, महादेशबीच फुटबल हुने उल्लेख गरिएको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो भने जुलाई २०२१ मा अर्जेन्टिनाले साबिक विजेता ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो ।

यस्तै पोल्यान्डले युइएफए नेसन्स लिग ए लिगको पहिलो खेलमा बेल्समाथि पुनरागमन जित निकालेको छ । पोल्यान्डले घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर दुई/एकको जित निकालेको हो । पोल्यान्डको जितमा जाकुव कामिन्स्की र कारोल स्वीडर्सकीले एक–एक गोल गर्नुभयो । बेल्सका जोनाथन विलियम्सले एक गोल थप्नुभएको थियो ।

५२औँ मिनेटमा जोनाथन विलियम्सको गोलमा बेल्सले सुरुवाती अग्रता लियो । ७२औँ मिनेटमा जाकुव कामिन्स्कीले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो । ८५औँ मिनेटमा कारोल स्वीडर्सकीले गोल गर्दै पोल्यान्डको पुनरागमन जित पक्का गर्नुभयो । जितसँगै पोल्यान्डले युइएफए नेसन्स लिग ‘ए’ ग्रुप चारमा एक खेलबाट तीन अंक जोडेको छ । बेल्स अंकविहीन छ । यो समूहमा बेल्जियम र नेदरल्यान्ड्स पनि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?