हलेसी तुवाचुङ नगरपालिकामा सरसफाई अभियान सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

चिसाङ शेर्पा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्वमा त्रि-धार्मिकस्थल हलेसीसहित मुख्य बजारक्षेत्रको सरसफाई अभियान सुरु भएको छ । महादेवस्थानमा पर्ने ग्यारेज टोल, ट्राफिक चोक, सालपा चोक, रिठ्ठाबोटे र मन्दिर प्रांगण सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो ।

बिहीबार बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरिएको थियो । कार्यालयगत कामकाज हुने भएकाले अबदेखि प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई अभियान सञ्चालन गर्ने तयारी गरिएको महादेवस्थानका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

सरसफाई अभियानमा नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कराज राई, हलेसी विकास समितिका निर्देशक सम्मर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु, हलेसी होटल व्यवसायीका संघका पदाधिकारी, नागरिक समाज, टोल विकास समितिलगायत सहभागि थिए ।

फोहोर नसकिएसम्म सरसफाई अभियान जारी रहने नगरप्रमुख राईले बताउनुभयो । हलेसीसँगै नगरपालिकाको मुख्य बजारक्षेत्र जयरामघाट, कदुवा, च्यास्मिटार, बोझे, दुर्छिम, अर्खौले, बिजुलेमा पनि सरसफाई अभियान सञ्चालन हुनेछ ।

साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु

साकेला गाउँपालिकाले सेवाग्राहीका लागि २४ घण्टे सेवा सुरु गरेको छ । बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको हो ।

सामान्यतः नेपालमा बिदाबाहेक बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समयमा स्थानीय सरकारलाई भेट्न सकिन्छ । तर, यो गाउँपालिकाले भने गाउँपालिकावासी नागरिकले भुइपरी आउने आपतविपत बाहेक र बिदामा पनि २४ सैं घण्टा स्थानीय सरकारबाट सक्ने सहयोग पाउनका लागि साकेला जिरो आवर सर्भिसको सुरुवात गरेका हुन् ।

सम्भवतः ७५३ वटै स्थानीय तहमा यस्तो सेवाको सुरुवात भएको छैन । हामीले नागरिकका लागि साकेला जिरो आवर सर्भिस सेवा सुरु गरेका हौ गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भन्नुभयो ।

आपतविपत पर्यो, दुःख कष्ट पर्यो, ठूलो समस्या भयो भने स्थानीय सरकारलाई २४ सै घण्टा गुनासो राख्न तथा सहयोग माग्न पाईयो । अध्यक्ष राईले भन्नुभयो, ‘त्यसमा स्थानीय सरकार पनि कसरी सहयोग पुर्याउने भन्ने कुरामा दृढ रुपमा लाग्नेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?