सदस्य-सचिव घिसिङ र सब्रिनाबीच भेट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच भेटवार्ता भएको छ ।

सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आउनुभएको हो । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । सदस्य-सचिव घिसिङले सब्रिना र उहाँको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गर्नुभयो । सब्रिना पनि आइजेएफको कमिटीमा आबद्ध हुनुहुन्छ ।

भेटका क्रममा सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाई दिँदै सब्रिनाले खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गर्नुभयो । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराउनुभयो ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गर्नुभएको छ । त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गर्नुभएको छ । त्यो यात्रामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गर्नुभएको थियो ।

सदस्य–सचिव घिसिङले उहाँहरूलाई पनि मायाको चिनो प्रदान गर्नुभयो । सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाउनुभएको छ । विश्व च्याम्पियनसिपमा दुई कास्य सब्रिनाको नाममा छ । सब्रिना युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा दुईपटक आफ्नो स्पर्धामा च्याम्पियन नै हुनुभएको थियो । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?