बोरिङ खन्दा निस्किएको ग्यास १७ घण्टापछि रोकियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकनजिक निस्किएको ‘मिथेन ग्यास’ रोकिएको छ । देवीमार्गका स्थानीय सन्तवीर लामाको घरमा खानेपानीको लागि बोरिङ खन्ने क्रममा निस्किएको ग्यास करिब १७ घण्टापछि आउन बन्द भएको हो ।

मंगलबार बिहान करिब साढे १० बजेदेखि निस्किएको लेदो माटो र ग्यास आज बिहान करिब साढे ३ बजेदेखि निस्कन बन्द भएको बताइएको छ । जमिनमुनि करिब ३०० फिट बोरिङ खनेपछि मिथेन निस्केको थियो ।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो ।

ग्यास निस्किएको क्षेत्रमा रातभर श्री नं १ विपद् व्यवस्थापन गण सुन्दरीजलका सेनाहरूले सुरक्षा दिएका थिए । तत्काल आगलागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखी २ वटा दमकल तयारी अवस्थामा राखिएको थियो । घटनाबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन ।

खानी तथा भूगर्भ विभागकाअनुसार उपत्यकाको जमिनमुनि प्रचुर मात्रामा मिथेन ग्यास रहेको र ३०० फिटको हाराहारीमा ड्रिल गर्दा उक्त ग्यास बाहिर निस्कने गरेको हो ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै हो । मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?