फोहोर व्यवस्थापनको समस्या यथावत्

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको समस्या अझै यथावत् नै छ । यसको समाधान निस्कन सकेको छैन । प्रयास भइरहेका छन् तर ती प्रयासबाट कुनै समाधान निस्कन सकिरहेको छैन, प्रयास खेर गइरहेका छन् । स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको छ । देशभरिकै परिणाम हेर्दा राजनीतिक पार्टीहरूका उम्मेदार नै विजयी भएका छन् । दलीय प्रणालीमा यस्तो हुनु स्वाभाविक हो तर केही ठाउँहरूमा स्वतन्त्र उम्मेदवार पनि विजयी भए । यसलाई अस्वाभाविक नमानौं, केही अपवाद पहिले पनि हुने गरेकै हुन् । यस पटक त्यस्तै भएको छ, यो अन्यथा होइन । संसदीय निर्वाचनमा गतविगत निर्वाचनमा केही सिट स्वतन्त्र व्यक्तिले जितेका हुन् । त्यो क्रम दोहोरिन सक्छ ।

यस्तै थोरै सिट जित्ने स्वतन्त्र व्यवक्तिमध्ये धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बढी चर्चामा हुनुहुन्छ । धरानका मेयर सामपाङले पानीलाई प्रमुखता दिइरहनुभएको छ । धरानमा पानीको अभाव रहेको र पहिलेदेखि उहाँले अभियानकै रूपमा अगाडि बढाउनुभएको थियो । त्यही अभियानले हाल उहाँलाई धरानको मेयर बन्न सहायक सिद्ध बनायो । काठमाडौं उपत्यकामा भने फोहोरमैला व्यवस्थापनको विषय सबैभन्दा प्रमुख समस्याका रूपमा देखिन आयो । उपत्यकामा देशको जनसंख्याको बीस प्रतिशत जति मानिस स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यस अनुसारको भौतिक पूर्वाधार अपुग भएकाले यहाँ बसोबास गर्ने मानिसहरूको जीवन कष्टकर बन्दै गएको छ । खानेपानीको समस्या यहाँ त्यत्तिकै छ ।

केही ठाउँमा सहज भए पनि सबै ठाउँमा समान खालको वितरण व्यवस्था छैन । पानीका धारामा गाग्रीका लाइन देखिने गरेका छन् भने टाढाटाढाबाट पानी बोकेर ल्याइँदै गरेको देखिन्छ । फोहोरमैला व्यवस्थापनको समस्या यहाँ सबैभन्दा पेचिलो बन्दै गएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका पालामा यससम्बन्धी काम हुनै सकेनन् । उहाँले यस्ता काम गर्न नसकेकाले स्वतन्त्र उम्मेदवारले म फोहोरमैलाको व्यवस्था मिलाउँछु भन्ने नारा दिएका कारणले उहाँलाई विजयी बन्न सजिलो भएको कुरा यथार्थ होइन भन्न सकिँदैन । युवा इन्जिनियर बालेन विजयी बन्नुभयो ।

प्रांगारिक मल बनाउन सकिने-नसकिने अर्थात् कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गर्छु भन्नुभएका मेयर शाह आफ्नो विजयपछि पनि फोहोरमैलाको व्यवस्थापनको प्रयासमा लाग्नुभएको देखिँएकै छ तर अझै समाधान आउन सकेको छैन । महानगरका मेयर र उपमेयर दुवै यसैका लागि नुवाकोटका सिसडोल र बञ्चरेडाँडा पुग्नुभयो । त्यहाँका स्थानीयका कुरा सुन्नुभयो, जनप्रतिनिधिसँग वार्ता पनि गर्नुभयो । त्यसबाट ठोस निष्कर्षमा पुग्न सक्नुभएन तर उहाँहरूको प्रयास जारी छ । विभिन्न पक्षसँग छलफल गरिरहनुभएको छ । प्रमुख दलका प्रमुख नेताहरूसँग भेटघाट पनि गरिरहनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेट्नुभएको छ, यता काठमाडौंका विभिन्न भागमा थुपारिएको फोहोर र त्यसको दुर्गन्धले महानगर कुरूप बन्न पुगेको छ । हेर्दा कुरूपमात्र होइन गर्मी महिनामा त्यसबाट अनेकौं रोग पैदा हुने खतरा छ । दुर्गन्धबाट हैजा, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोग लाग्नसक्ने सम्भावना रहन्छ । यसको सकेसम्म छिटो समाधान खोज्नु आवश्यक छ । मेयर साहले नुवाकोटवासीलाई बाटो तथा दुर्गन्ध नआउने रसायन प्रयोग गर्ने जस्ता आश्वासन दिनुभएको छ, त्यहाँका बासिन्दाले गरिरहेको रोजगारलगायत माग पूरा गर्न सक्नुहोला कि नसक्नुहोला ?

उहाँको प्रमुख प्राथमिकता यही विषय भएकाले स्थानीयको माग पूरा गरेर केही दिनमा काठमाडौंको फोहोर व्यवस्थापन भएन भने त्यसबाट समस्या अझै बढ्दै जानेछ । मेयर तथा उपमेयरहरूप्रतिको जनविश्वासमा कमी हुनेछ । यसलाई अर्जुनदृष्टि बनाएर लाग्नु आवश्यक छ, जनताले पनि उहाँहरूलाई साथ दिनु आफ्नो कर्तव्य हो भन्ने ठान्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?