इस्टोनियाविरुद्ध मेस्सीका पाँच गोल

Read Time = 3 mins

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले इस्टोनियाविरुद्ध पाँच गोल गर्नुभएको छ । मेस्सीको पाँच गोल मद्दतमा अर्जेन्टिनाले इस्टोनियामाथि ५-० कै जित हात पारेको छ । ४७औँ मिनेटमा हृयाट्रिक पूरा गर्नुभएका मेस्सीले त्यसपछि दुई गोल थप्नुभएको थियो ।

खेलको आठौँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्नुभएको थियो । ४५औँ मिनेटमा उहाँले दोस्रो र ४७औँ मिनेटमा तेस्रो गोल गर्नुभयो । यस्तै ७१औँ र ७६औँ मिनेटमा थप दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई फराकिलो जित दिलाउनुभएको थियो । जितसँगै अर्जेन्टिना ३३औँ खेलसम्म अपराजित रहन सफल भएको छ ।

अर्को खेलमा नर्वेले स्विडेनलाई २-१ गोलअन्तरले पराजित ग¥यो । युइएफए नेसन्स लिग बी ग्रुप चार अन्तर्गतको खेलमा नर्वेका लागि दुवै गोल हालान्डले गर्नुभएको थियो । खेलको २०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै हालान्डले सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

६९औँ मिनेटमा हालान्डले एलेक्सान्डर सोर्लोथको पासमा दोस्रो गोल गर्नुभयो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी इलांगाले डिजान कुलुसेभ्स्कीको पासमा सान्त्वना गोल फर्काउनुभयो । यो जितसँगै नर्वे दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सर्विया र स्विडेन समान तीन अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा स्लोभेनियाले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा सर्वियाले स्लोभेनियालाई ४-१ ले पराजित गरेको छ । सर्वियाका एलेक्सान्डर मित्रोभिच, सेर्गेज मिलिन्कोभिक साभिक, लुका जोभिक र नेमान्जा राडोनजिकले गोल गर्नुभयो । स्लोभेनियाका पिटर स्टोजानोभिकले एक गोल फर्काउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?