भुटानमाथि नेपालको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले भुटानमाथि ४ विकेटको जित हात पारेको छ । सोमबार भएको खेलमा ६७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

नेपालकी सनु राजवंशीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३० रन जोड्नुभयो । यस्तै साना प्रविनले १५ बलमा २ चौकासहित १२ रन, सृष्टि जैशीले ८, किरणकुमारी कुँवरले २, आश्मा पुलामी मगरले ३ र कृतिका मरासिनी र एलिसाकुमारी यादवले समान दुई-दुई रन जोड्नुभयो । उपकप्तान स्नेहा महराले खाता नै खोल्न सक्नुभएन ।

भुटानकी सांगे ए वाङ्मोले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै अञ्जुली घले र सोनमले १-१ विकेट लिनुभयो । त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११-११ रन बनाउनुभयो । चाडेनलाई नेपालकी मनिषा उपाध्यले बोल्ड गर्नुअघि उहाँले १४ बल खेल्दै २ चौका प्रहार गर्नुभएको थियो । त्यसबाहेक भुटानका चाडो ओम ६, एभा सोमसेल योङजम ७, नोर्बु २ र पेमा याङचाङ ९ रनमा आउट हुनुभयो ।

नेपालकी मनिषा कुमारी उपाध्यले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै कप्तान कृतिका मरासिनीले ३ ओभरमा ११ रन खर्चेर २ तथा अनु कडायतले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट हात पार्नुभयो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो चौथो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ ।

विश्वकपमा छनोट हुन नेपालले थाइल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ महिला टी-२० विश्वकप खेल्न पाउनेछ ।

प्रतियोगितामा समान तीन खेलमा अपराजितका साथ नेटरनरेटका कारण युएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल तीन खेलमा दुईमा जित र एकमा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया चौथो, कतार पाँचौँ र भुटान छैटौँ स्थानमा छन् ।

नेपाली यु-१९ महिला टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?