✍️ प्रा. देवीभक्त ढकाल
संसारमा सबै निर्जीव तथा सजीव वस्तुहरू पृथ्वी, जल, अग्नि, वायु र आकाश जस्ता पञ्चतत्वबाटै अस्तित्वमा हुन्छन् । मानव शरीर पनि पञ्चतत्वबाटै बनेको छ । यिनै पाँच तत्वहरूको असन्तुलनबाट मानव शरीरमा रोगहरूको प्रवेश हुन्छ भन्ने प्राकृतिक चिकित्सा विज्ञानको मान्यता छ । प्राकृतिक चिकित्सा विज्ञानले यिनै पाँच तत्वलाई सन्तुलन गरेर मानव शरीरका अतिरिक्त मानव मस्तिष्कलाई समेत स्वस्थ्य, तम्दुरुस्त राख्छ । शरीरमा उत्पन्न विभिन्न रोगलाई माटोको सहयोगमा उपचार गर्ने पद्धतिलाई माटो चिकित्सा भनिन्छ ।
माटोले प्राणीलाई पालनपोषण, वृद्धि र विकासमात्रै गर्दैन यसले जीवधारीको आवश्यकता पूरा गर्न विभिन्न वनस्पति र खाद्यन्नको आपूर्ति पनि गर्छ । माटो जीवधारीको संरक्षण कर्ता हो । जीवधारीको आश्रय, साहारा र जीवन धान्ने स्रोतको रूपमा माटोको महत्वपूर्ण भूमिका भएका कारण नै हुनसक्छ पृथ्वीलाई हामीले सगौरव माता भन्छौं । माताको काम जन्मदिने, हुर्काउने, बढाउने भएकाले जीवधारीको सबैभन्दा नजिकको प्यारो सम्बन्ध नै आमा हो । पृथ्वी जीवधारीका लागि आमाकै पर्यायवाची शब्द हो ।
प्राकृतिक चिकित्सा विज्ञानले माटोलाई महत्वपूर्ण उपचार विधि मान्दछ । माटोको उपचारले टाउको दुख्ने, उच्च रक्तचाप, मधुमेह, पेटको रोग, हृदय रोग, अनिद्रा, तनाब, शरीरमा भएको विजातीय पदार्थलाई अवशोषित पनि गर्छ । छालासम्बन्धी विभिन्न रोगको उपचारका अतिरिक्त अन्य धेरै रोगको निवारणका लागि प्राकृतिक चिकित्सामा माटो चिकित्सा अत्यन्तै प्रभावकारी मानिन्छ । प्राकृतिक चिकित्सामा रोगीको आहार, विहार, जीवनशैली, व्यवहारको सकारात्मक र नकारात्मक प्रभाव स्वास्थ्यमा प्रत्यक्ष पर्ने भएकाले प्राकृतिक चिकित्सामा आहार शिक्षा, जीवनशैली शिक्षा, व्यवहार शिक्षा प्राकृतिक चिकित्साका अभिन्न अंग हुन् ।
हाम्रो आहार, विहार, जीवनशैली, व्यवहारको सकारात्मक र नकारात्मक प्रभाव स्वास्थ्यमा प्रत्यक्ष पर्ने भएकाले प्राकृतिक चिकित्साको प्रभावकारिताका लागि प्राकृतिक चिकित्सक आहार, विहार साथै जीवनशैलीप्रति सधैं सचेत हुन्छन् । रोगीहरूलाई प्राकृतिक भोजन र प्राकृतिक जीवनशैलीलाई आत्मसात गर्न सधैं अभिप्रेरित गर्दछन् । प्राकृतिक चिकित्सामा भोजन शिक्षा र जीवनशैली शिक्षा उपचार प्रक्रियासँग नै अन्तरसम्बन्धित विषय हुन् । उपचारका अतिरिक्त आहार शिक्षा, जीवनशैली र व्यवहार शिक्षाले प्राकृतिक चिकित्सालाई दिगो, भरपर्दो र विश्वसनीय बनाएको छ । आहार-विहार शिक्षा, जीवनशैली शिक्षा, व्यवहार शिक्षा प्राकृतिक चिकित्साका आधारभूत विशेषता हुन् ।
प्राकृतिक चिकित्साको विशेषता भनेको के हो भने आधुनिक चिकित्सामा जस्तो शरीरमा देखिने रोगका प्रभावको होइन रोगका कारणको उपचारबाट शरीरलाई रोगमुक्त गर्ने काम प्राकृतिक चिकित्साले गर्छ । तसर्थ यो विधा भरपर्दो मानिन्छ । प्राकृतिक चिकित्साले प्राकृतिक वस्तुलाई भोजनको रूपमा ग्रहण गर्न उत्प्रेरित गर्छ । यसले ‘भोजनलाई नै औषधि र औषधि नै भोजन हो’ भन्ने सिद्धान्तको अनुसरण गर्छ । आधुनिक चिकित्सामा जस्तो रोग निवारणका लागि यो विधामा छुट्टै औषधि हुँदैन । प्राकृतिक चिकित्साअन्तर्गत हुने सबै उपचारमा औषधि प्रयोग नहुने भएकाले शरीरमा औषधिको पाश्र्व प्रभावको जोखिम हुँदैन ।
‘औषधि भनेको भोजन हो र भोजन भनेको नै औषधि हो’ भन्ने सिद्धान्तले यो चिकित्सा विधा कम खर्चिलो र गरिबमैत्री मानिन्छ । खासगरी अल्पविकसित देशहरूमा जहाँ आयातबाट सबै आवश्यकता पूरा गरिन्छन् त्यस्ता देशहरूमा महँगा औषधिको आयात प्रतिस्थापन हुन्छ । प्राकृतिक चिकित्सा विज्ञान ती देशहरूका लागि त वरदान नै भन्नुपर्छ । आधुनिक चिकित्सामा औषधिमा हुने अन्धाधुन्ध खर्च यस विधामा नहुने हुँदा नेपाल जस्ता देशहरूले यो विधालाई अधिकतम प्रयोगमा ल्याउनुभनेको लोककल्याणकारी काम गर्नु हो । राज्यको अन्तिम गन्तव्य भनेकै लोककल्याण हो ।
हाम्रो शरीरमा रोग उत्पत्ति हुने मुख्य कारण भनेको शरीरमा उत्पन्न हुने विजातीय पदार्थ वा रूग्णताकारक पदार्थको उपस्थिति हो । माटोको उपचारले शरीरमा भएको विजातीय पदार्थ वा रोग उत्पन्न गर्ने विषाक्त वस्तुलाई आफूमा सजिलैसँग आत्मसात गर्छ । माटोमा शरीरमा भएको विषाक्त वस्तुलाई अवशोषण गर्ने गुणलाई प्राकृतिक चिकित्सा विधाले भरपूर प्रयोग गर्छ । यसले मानव शरीरलाई रोगमुक्त गर्न अनौठो प्रभाव पार्छ । शरीरभित्रको दुषित पदार्थ रौंका छिद्रमार्फत माटोले विषाक्त वस्तुलाई अवशोषण गर्दा रोग शरीरबाट निष्काशन गर्न माटो चिकित्साको प्रभावकारिता प्राकृतिक चिकित्साको भरपर्दो विधि हो ।
खासगरी पाचन प्रणालीलाई सक्षम बनाउन, शरीरमा उत्पन्न असहज अवस्थालाई सहज बनाउन माटो चिकित्साको ठूलो महत्व छ । माटो चिकित्सा विभिन्न प्रकारका चर्मरोगका साथै जटिल स्नायु रोगहरूको निदानमा अचुक मानिन्छ । साथै पक्षाघात जस्ता थुप्रै असाध्य रोगमा पनि माटो चिकित्साले चामत्कारिक फाइदा दिन्छ ।
माटोद्वारा हुने उपचार झट्ट सुन्दा, पढ्दा वा देख्दा यस विधा बारे ज्ञान नहुनेका लागि अविश्वसनीय लाग्न सक्छ तर मानव शरीरको उपचारमा यो उपचार विधि अत्यन्तै प्रभावकारी हुन्छ । प्राकृतिक उपचारमा यो विधि अनादिकालदेखि नै प्रयोगमा आएको हो । पश्चिमी दुनियाँका आधुनिक चिकित्सकहरू आधुनिक उपचारबाट आफ्नै उपचारमा असफल भएपछि प्राकृतिक चिकित्सा पद्धतिबाट रोगमुक्त भएको घटनाले अहिले प्राकृतिक उपचारको विस्तार साथै लोकप्रियता पश्चिमा देशहरूमा वृद्धि भएको छ । माटोको लेप, पट्टी र स्नान आदिले न केबल शरीरको बाहिरी भागलाई मात्रै सुन्दर बनाउने, रोगमुक्त गर्ने गर्दैन यसले मानव मनभित्रको गन्दगीलाई पनि हटाएर मनलाई शान्त, सुन्दर र स्वस्थ्य बनाउने काम गर्छ ।
यस्तो उपचारमा प्रयोग हुने माटो सामान्य माटो होइन । यसरी उपचार गर्ने माटो जमिनभन्दा चार-पाँच फिटभित्रको प्रदूषित नभएको स्वच्छ हुन अनिवार्य छ । यसरी जमिनमा सुरक्षित रहेको माटोलाई निकालेर त्यसमा मिसिएका पात, पतिंगर, झारपातलाई छुट्याउनुपर्छ । माटोमा मिसिएका बालुवा, ढुंगा आदिलाई छुट्ट्याएपछि त्यसलाई छानेर निस्कने धुलोलाई घाममा सुकाउनुपर्छ । त्यसरी तयार गरिएको नरम माटोमात्र उपचारमा प्रयोग हुन्छ । माटोलाई उपचारका लागि प्रयोगयोग्य बनाउने विभिन्न चरण पार गरेपछिमात्रै उक्त माटोलाई उपचारमा प्रयोग गर्न सकिन्छ ।
शरीरलाई गर्मी प्रदान गर्नुपर्ने अवस्थामा तातो माटो र शीतलता प्रदान गर्नुपर्ने उपचारमा चिसो माटाको प्रयोग हुन्छ । प्राकृतिक चिकित्साको उपचारको सुरुवातको बिन्दु मानव शरीरको पेट हो । मानव शरीरभित्र पेटमा विजातीय पदार्थको सञ्चयका कारण नै रोग उत्पत्ति हुन्छ भन्ने मान्यता प्राकृतिक चिकित्साको भएकाले प्राकृतिक चिकित्सा विज्ञानले उपचारको प्रारम्भ नै पेटमा चिसो माटो, तातो माटो साथै चिसोपानी र तातोपानीको सहयोगमा गर्छ । यसरी शरीरमा सञ्चित रूग्णकारक वा विषाक्त वस्तु वा विजातीय पदार्थलाई निष्काशन गर्न सर्वप्रथम पेटमा माटाको पट्टीको प्रयोग हुन्छ ।
पेटबाट हानिकारक वस्तुको निष्काशनका लागि भने एनिमाको प्रयोग गरिन्छ । पेटलाई स्वस्थ्य बनाउन प्राकृतिक चिकित्सामा एनिमा अर्थात् वस्तिकर्मको महत्वपूर्ण भूमिका हुन्छ । माटोबाट उपचार हुने विषय प्राकृतिक उपचारबारे थाहा नहुने जोकोहीलाई सुरुवातमा भने अनौठो अनुभूति हुनसक्छ । तर, यसको प्रभावकारिताले भने सम्बन्धित व्यक्तिलाई माटो र प्राकृतिक उपचारका विधिप्रति अनौठो विश्वसनीयता सिर्जना गर्छ ।
शरीरमा प्रयोग हुने माटोको पट्टी बनाउन माटोलाई कुटेर धुलो बनाउने, छान्ने र पानी मिसाएर गहुँको आँटा जस्तै मुछ्नुपर्छ । यसरी पट्टी तयार गर्ने चिसो वा तातो पट्टी बनाउने माटो तयार गर्दा त्यसलाई चलाउने वस्तु धातुको प्रयोग नगरिकन काठको प्रयोग गरिन्छ । पेटमा सेकाइ गर्ने माटोको पट्टीको मोटाइ आधा इन्चको हुनुपर्छ भने यसको लम्बाइ भने ९ देखि १० इन्चसम्मको हुन्छ । यसरी बनाइएको माटोको पट्टी शरीरको छालासँग सोझै सम्पर्क हुनेगरी पेटमा २० देखि ३० मिनेटसम्म राखिन्छ ।
यस्तो पट्टी बनाउने माटोलाई पट्टी बनाउनुभन्दा पहिल्यै १२ देखि १४ घण्टासम्म भिजाइन्छ । यसरी पेटमा दिने माटोको पट्टी बिहान खाली पेटमा वा खाना खाएको ५ वा ६ घण्टापछि प्रयोग गर्नुपर्छ । पट्टी प्रयोग गरेको डेढ दुई घण्टाभित्र खाना दिइँदैन । माटो उपचारअन्तर्गत माटो प्याक, माटो लेपन वा माटो स्नान जस्ता रोगको प्रकृति अनुसारका विविध तरिका अवलम्बन गरिन्छ ।
जीवधारीको लागि माटो जीवनदाता, पालनकर्ता दुवै हो । माटो चिकित्साले छालामा रहेका पसिनाका ग्रन्थीलगायत अन्य ग्रन्थीलाई सक्रिय र थप क्रियाशील बनाउँछ । माटोलाई उपचारको साधन बनाउँदा यसले शरीरबाट विषाक्त पदार्थलाई निष्काशन गरेर शरीरलाई स्वस्थ राख्ने काम गर्छ । यसका अतिरिक्त माटो चिकित्साले शरीरमा रक्तसञ्चारलाई बढाउँछ भने अनुहारको दाग, चायाँ, डण्डिफोर जस्ता तमाम छालाजन्य रोगलाई निर्मूल गर्न, अनुहारलाई सुन्दर र आकर्ष बनाउन माटो चिकित्सा अत्यन्तै प्रभावकारी विधि हो । यसबाहेक माटो उपचार विधिले रगत जमेर हुने दुखाइमा अनौठो लाभ दिन्छ ।
शरीरमा शीतला दिन्छ । श्वाशप्रश्वाश प्रणालीलाई मजबुत बनाउँछ । रगतमा अक्सिजनको मात्रा बढाउँछ । रक्तसञ्चारलाई सशक्त बनाउँछ । शरीरमा विकसित विकारलाई नष्ट गरेर शरीरलाई शुद्धीकरण गर्छ । मुटुको धड्कनलाई सामान्य बनाउँछ । रक्तचापलाई नियन्त्रण गर्छ । तनाव तथा हिनताबोधलाई कम गर्छ । गहिरो निद्रासमेत प्रदान गर्न मद्धत गर्छ । हाडजोर्नीको समस्या र अर्थाइटिसको समस्याको निदान गर्छ । पेट र आन्द्राको तापक्रमलाई सामान्य राखेर कब्जियत र टाउको दुखाइ जस्ता तमाम रोगहरूमा माटो चिकित्साको प्रभाव चामत्कारिक प्रमाणित भएको छ । समग्रमा भन्दा प्राकृतिक चिकित्साअन्तर्गत माटो चिकित्साले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउँछ ।
माटोको चिकित्साबाट लाभ लिन प्राकृतिक चिकित्सालयको सेवा लिनुपर्छ । अहिले नेपालमा सरकारी स्वामित्वमा प्राकृतिक चिकित्सालय छैनन् । निजी क्षेत्रमा व्यावसायिक रूपमा यस्ता अस्पताल खुले पनि माटोको उपचारमा अहिलेसम्म नेपालकै ख्यातिप्राप्त र पुरानो अस्पताल हो सामुदायिक प्राकृतिक चिकित्सालय रजहर ।
त्यसैले रोगीहरू कम खर्चमा सजिलै रोगमुक्त हुन र निरोगी दीर्घजीवी हुन प्राकृतिक जीवनशैली, व्यवहार साथै आहार शिक्षा लिने उत्तम थलोको रूपमा समुदायको संरक्षण र सञ्चालनमा रहेको रजहरस्थित प्राकृतिक चिकित्सालयको सेवा प्राप्त गरेर आफू, आफ्नो परिवार, नातागोता, छरछिमेक समेतलाई कुनै प्रकारको साइड इफेक्टको सम्भावना नभएको स्वास्थ सेवा लिन प्रेरित गरेर प्राकृतिक चिकित्सा विधालाई सम्बद्र्धन र प्रोत्साहित गरौं । आफू स्वस्थ बनौं र सबैलाई स्वस्थ रहन उत्प्रेरणात्मक भूमिका निर्वाह गरौं । जय प्रकृति । जय पूर्वीय उपचार संस्कृति ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच