‘बाबुदाइ’ होटलका चोटाकाेठादेखि वडाध्यक्षसम्म

Read Time = 7 mins

-रामचन्द्र रायमाझी
पाल्पा । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’ नामले परिचित बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । ‘बाबुदाइ’ तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो । उहाँलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् ।

उहाँ तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मनुभएको हो । बाबुदाइले सानै उमेरदेखि व्यवसायी, सामाजिक, राजनीतिक र विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आउनुभएको छ ।

२०४६ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिइ राजनीतिमा सक्रिय रहँदै आउनुभएका शाक्य २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालको तानसेन नगरपालिका ५ को वडा सदस्यमा अत्याधिक मतका साथ विजयी हुनुभएको थियो । सामाजिक क्षेत्रसँगसँगै राजनीतिक क्षेत्रमा समेत क्रियाशिल रहनुभएका उहाँ २०५६ मा नेपाल तरुणदल तानसेनका नगर सभापति बन्नुभयो । उहाँ तरुणदलमा क्रियाशिल भएकै कारण २०६८ मा नेपाली काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सदस्यमा निर्वाचित समेत हुनुभयो ।

सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका शाक्य २०५९ देखि होटल व्यवसयाीमा संलग्न रहनुभयो । १२ वर्षको उमेर हुँदा बुबाको निधन भएपछि उहाँलाई घरको ठूलो जिम्मेवारी थपियो । घरको जेठो छोरा भएकै कारण पनि सात जनाको परिवारको जिम्मेवारी शाक्य माथि आयो । पढ्दै गर्नुभएका उहाँलाई परिवारको जिम्मेवारी थपिएपछि भने निरन्तरता दिन गाह्रो भयो । जसोतसो गरी कक्षा १० सम्म अध्ययन गर्नुभएका उहाँ घरपरिवारका लागि भए पनि व्यवसायी गर्नुको विकल्प थिएन । ‘पढ्न मन थियो । तर, सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ,’ उहाँले भन्नुभयो ‘पढ्न छोडेपछि पैसा कमाउन होटल गरे ।’ शाक्यले होटल व्यवसायीसँगै राजनीति र सामाजिक कामलाई अगाडि बढाउनुभयो । सानो होटलबाट व्यवसायीको सुरुवात गर्नुभएका बाबुदाइ निकै संघर्ष र मेहनत पछि क्याटरिङका मालिक समेत बन्नुभयो । उहाँ सबैको घर भान्छामा समेत पुग्नुहुन्छ । मर्दा पर्दा होस् वा धर्म गर्दा उहाँ सबैको घरमा पुग्नुहुन्छ र सहयोग गर्नुहुन्छ ।

सामाजिक तथा आध्यात्मिक काममा पनि उहाँले नै अगुवाई गर्दै आउनुभएको छ । उहाँको क्याटरिङ सेवाबाट वडावासी मात्रै नभई तानसेनवासी लाभान्वित भएका छन् । जो कोहीका लागि पनि उहाँ अति नै सजिला हुनुहुन्छ । बोलाउने बित्तिकै उहाँ जहाँ पनि जान सक्नुहुन्छ । दुख, सुख बुझेको व्यक्ति नै जनताको सेवक बन्न सक्छ भन्ने विचार उहाँको छ । सोही विचारलाई आत्मसाथ गर्दै शाक्यले २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट तानसेन ३ को वडा अध्यक्षमा उम्मेदवारी समेत दिनुभयो ।

उहाँले उम्मेदवारी दिर्दै गर्दा केही राजनीतिक दल र व्यक्तिहरुले एसएलसी पास समेत नगरेको र भात पकाउने भनेर अपमान गरे भने केहीले दुःख भोगेको र संघर्ष गरेको व्यक्तिले केही गर्छ भनि उहाँलाई ढाडस समेत दिए । उहाँलाई निर्वाचन जित्न निकै मुस्किल थियो । विगतमा नेकपा एमालेले जित हासिल गर्दै आएको वडा भएकाले पनि उहाँलाई जित्न चुनौति रहेको थियो । तर शाक्य कुनै पनि अवस्थामा हतोत्साही नभई निर्वाचनको मैदानमा उत्रिनुभयो । उहाँ प्रत्येक मतदाताको घर–घरमा पुगेर दिल जितेर मत माग्नुहुन्थ्यो । नेताहरुको मन जित्न नसके पनि बाबुदाइले जनताको मन भने जित्न सफल हुनुभयो । अन्ततः उहाँ अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभयो ।

२० वर्षसम्म होटल व्यवसायीको काम गर्नुभएका उहाँ अहिले वडाध्यक्षको भूमिकामा हुनुहुन्छ । ‘मलाई वडा बनाउने जिम्मेवारी आएको छ,’ उहाँले भन्नुभयो, ‘वडाको विकास र समृद्धिका लागि नमुना काम गर्छु । खानेपानीको सहज व्यवस्थापन, सडक ग्राभेल र स्तरोन्नति गरी हिउँद÷बर्खा सरर गाडी हिँड्ने बाटो बनाउँछु ।’ वडाका सबै नागरिकलाई स्वास्थ्य सेवा, स्कुलको पढाइमा गुणस्तर वृद्धि, युवालाई ढाका र करुवा उद्यमबाट स्वरोजगार बनाउने गरी समग्र वडाको काम गरी पाँच वर्षभित्रमा नमुना वडा बनाउने अठोट रहेको उहाँले सुनाउनुभयो । ‘यो सुनौलो मौकामा काम गरेर देखाउने हो,’ उहाँले भन्नुभयो, ‘वडावासीलाई खुसी पार्ने गरी काम गर्छु ।’ शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकाससहितको काम गरेर फेरि पनि जनताले खोज्ने गरी वडामा योगदान गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?