दक्षिण-पश्चिमको सक्रियता

अमेरिकी उच्च अधिकारीपछि भारतीय विदेश सचिवको ‘हाई लेबल’ भेटवार्ता

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । सोमबार बिहान दिल्लीबाट काठमाडौं ओर्लनुभएका क्वात्राले दिनभर उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो । उहाँको उच्चस्तरीय भेटवार्ता मंगलबारसम्म जारी रहनेछ । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएको हो । क्वात्रालाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

काठमाडौं आर्लेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतका विदेश सचिव क्वात्राको टोली सहभागी थिए । सचिवस्तरीय संयन्त्रको बैठकमा दुवै देशबाट सात–सात जनाको टोली उपस्थित थियो । नेपाल-भारतबीचको सचिवस्तरीय बैठकका क्रममा दुईदेशीय सम्बन्धका साथै बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको परारष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सचिवस्तरीय बैठकमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको हो । बैठकमा दुई देशबीच साझेदारीको समीक्षासमेत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् । नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक करिब सात महिनापछि बसेको हो । पछिल्लोपटक परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक २०७९ भदौमा नयाँदिल्लीमा बसेको थियो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । नेपालका लागि पूर्व-भारतीय राजदूतसमेत रहनुभएका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र मानिनुहुन्छ । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । क्वात्रा आज (मंगलबार) स्वदेश फर्कने कार्यक्रम छ ।

पछिल्लो समय विदेशबाट नेपालमा उच्चस्तरीय भ्रमणहरू भइरहेका छन् । अमेरिकी अधिकारीको सक्रियताबीच भारतीय विदेश सचिवको भ्रमण भएको हो । राष्ट्रपति निर्वाचनको पूर्व-सन्ध्यामा भइरहेका भ्रमणलाई चासोका साथ हेरिएको छ ।

अघिल्लो साता राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीकी प्रमुख समान्था पावर नेपाल आउनुभएको थियो । त्यसैगरी, अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउनुभएको छ । उहाँ दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुनुहुन्छ । अफ्रिन अख्तरको नेपाल आगमन अमेरिकाबाट पछिल्लो समय भएको लगातार तेस्रो भ्रमण हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट
क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट्नुभएको छ । विदेश सचिव क्वात्राले सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीन कालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राख्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । भेटका क्रममा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाउनुभएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै, उहाँले प्रधानमन्त्री प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँग विदेश सचिव क्वात्राले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको हो । भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

क्वात्रा मंगलबार पनि भेटघाटमा सक्रिय हुनुहुनेछ । उहाँले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई पनि भेट्ने बताइएको छ ।

दक्षिण एसियाली संयन्त्र बनाउनेबारे छलफल
नयाँ हवाई रुट खोलिदिन नेपालको आग्रह
विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको हो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटबारे पनि छलफल भएको मन्त्री पौड्यालले जानकारी दिनुभयो । नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापार लगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ । भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राख्नुभएको थियो । ‘जलवायु परिवर्तनबाट भारत र हामी जोखिममा परेका छौँ । दक्षिण एसियास्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायुसम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्ने बारेमा विशेष जोड दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘धेरै भइरहेका विकासका आयोजनालाई कसरी प्रभावकारी र सफल बनाउने भन्नेमा छलफल भयो । सचिवस्तरीय बैठकमा विकासका विभिन्न पाटामा छलफल गर्नुभएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?