सेयर बजार फेरि पुरानै अवस्थामा

Read Time = 3 mins

काठमाडौं । सेयर बजार फेरि पुरानै लयमा फर्किएको छ । बुधबार ६० अंकले बढेको बजार बिहीबार १७.६४ अंकले घटेको छ । नेप्से १७.६४ अंकले घटेर २०६२.८६ अंकमा झरेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ३.९९ अंकले घटेर ३९६.३९ अंकमा झरेको छ ।

यस दिन कुल दुई सय २९ कम्पनीका ४१ लाख ५६ हजार एक सय कित्ता सेयर एक अर्ब ४७ करोड २६ लाख ९० हजार पाँच सय ५४ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबारमा आएका सबै १३ वटै समूहगत सूचक घटेका छन् । विकास बैंक सर्वाधिक २.०२ प्रतिशत र होटल तथा जलविद्युत् सूचक एक प्रतिशतभन्दा धेरैले घटेका छन् ।

कुमारी बैंकको भने सर्वाधिक छ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरी ४.३२ करोड, अरुण काबेली पावर ३.९८ करोड, एसियन लाइफ ३.९८ करोड, नेपाल लाइफ ३.९५, नबिल बैंक ३.८८, अपि पावर ३.६८ करोड, अरुण भ्याली हाइड्रोपावर ३.६२ करोड, एनआइसी एसिया बैंक ३.१४ करोड र शिवम् सिमेन्ट्सको २.७१ करोडको सेयर कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै ६.६१ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोपावर र समीट लघुवित्तको पाँच प्रतिशत तथा इमर्जिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको पनि चार प्रतिशतभन्दा बढीले घटेको छ ।

बुधबार नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र बोर्ड अध्यक्ष रमेशकुमार हमालले सेयर बजारका समस्या समाधानका लागि नीतिगत र प्रक्रिया सुधारको संकेत दिनुभएको थियो ।

त्यस्तै अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका विविध समस्या समाधान गर्न र सुझाव प्रस्तुत गर्न चार सदस्यीय सुझाव समिति गठन गरिएको जानकारी गराउनुभएको थियो । उल्लेखित सकारात्मक पहलका कारण बुधबार सेयर बजार बढेको भए पनि बिहीबार फेरि पुरानै लयमा फर्र्किएपछि लगानीकर्ता निराश बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?