चौतारा वडा नम्बर- १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषित

Read Time = 3 mins

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३ जिल्लाकै पहिलो बालमैत्री वडा बनेको छ । लामो प्रयासपछि चौतारा साँगाचोकगढी वडा न १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको हो ।

५८औं राष्ट्रिय बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बनेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले यो आर्थिक वर्षमा कम्तिमा दुईवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना रहेको पनि बताउनु भयो ।

कार्यक्रममा उपमेयर सीता थापाले बालमैत्री वडा घोषणाले चौतारा साँगाचोकगढी नगरपालिकाले भौतिक पूर्वाधारलाई मात्र विकास नठानेर बालबालिकाको सार्वङ्गिन विकासलाई पनि विकासको मूल प्रवाह ठानेको जिकिर गर्नु भयो । बालबालिकाको सर्वाङ्गि विकास विना अरु विकासको खासै अर्थ नरहेको उहाँको निचोड थियो ।

विभिन्न झाँकी, नारा र बजार परिक्रममा पछि सेतीदेवी माविको प्राङगनमा आयोजित घोषणासभामा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल लगायत वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
२०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उदेश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेको उहाँले बताउँनु भयो ।

विगत लामो समयदेखि वडाले सूचक तथा मापदण्ड पुरा गर्दै बालबालिकाको हक, हित र अधिकारलाई स्थानीय नीती, नियम र बजेटमा समावेश गर्दै आइरहेको छ । यो सँगै थप सूचक र जिम्मेवारीलाई पनि आत्मसा गर्दै कार्यान्वयन गर्नका लागि वडाको भूमिका सधैं रहिरहने प्रतिवद्धता अध्यक्ष गौतमले गर्नुभयो ।
बालमैत्री वडाका लागि ५१ सूचक पार गरेपछि सो वडा बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?