स्वदेशी उद्योग विरोधी नीति तत्काल सच्याउन माग

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७९/०८० को बजेटमा रहेका स्वदेशी उद्योग विरोधी नीतिहरू तत्काल सच्याउन माग गरेको छ । महासंघले भन्सार महसुल, अन्तःशुल्कलगायतका राजस्वका दरका प्रावधानले स्वदेशी उद्योग व्यवसाय प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बिनापरामर्श र उद्यमी व्यवसायीको राय सुझावविपरीत एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल सम्बोधन गरिनुपर्ने महासंघको जोड रहेको छ । स्टिल रोलिङ मिल तथा एमएस वायर उद्योग, वनस्पति घिउ तेल उद्योग, स्यानेटरी प्याड उद्योगलगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेको पनि महासंघले उल्लेख गरको छ । एमएस वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल पाँचबाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा दुई हजार पाँच सयबाट चार हजार पाँच सय पुर्‍याइँदा वायर स्टिल उत्पादन गर्ने उद्योग आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुुगेको बताइएको छ ।

त्यसैगरी प्रशोधित पाम र पामोलिन तेल आयातमा पाँच प्रतिशत भन्सार महसुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पति घिउ तेल उद्योग संकटमा पर्ने महासंघले जनाएको छ । स्यानेटरी प्याड उद्योगले तिर्दै आएको भन्सार महसुल, अन्तःशुल्क तथा कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल यथावत् राखी तयारी प्याड आयातमा लाग्ने भन्सार शुल्कमा ९० प्रतिशतसम्म छुट दिँदा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग नै बन्द हुने परिस्थिति सिर्जना भएको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने बजेटमा उल्लेख भएकोमा उत्साहित भएको निजी क्षेत्र भन्सारदर प्रावधानले दर्जनौं स्वदेशी उद्योग व्यवसाय सदाका लागि बन्द भई हजाराँैको रोजगारी गुम्ने अवस्था सिर्जना हुने महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?