थाइल्याण्डमा गाँजको कारोबारलाई वैधानिकता

Read Time = 4 mins

बैंकक । थाइल्याण्डले भाङ एवं गाँजाको कारोबारलाई वैधानिकता दिएको छ । अबदेखि थाइल्याण्डका जनताले घरैमा भाङ खेती गर्न र बिक्री वितरण गर्न पाउने भएका छन् । सरकारले गाँजालाई प्रतिबन्धित लागूऔषधको सूचीबाट हटाएपछि जनताले यो छुट पाएका हुन् ।

लागूऔषध सेवन, ओसारपसार वा बिक्रीवितरणलाई लिएर अत्यन्तै कडा कानुन रहेको मानिने दक्षिण पूर्वी एसियाली क्षेत्रमा यस्तो लचिलो निर्णय लिने थाइल्याण्ड पहिलो मुलुक हो ।

थाई जनस्वास्थ्य मन्त्रीले बिहीबारदेखि १० लाख गाँजाको बिरुवा वितरण गर्ने घोषणा गरेका छन् । योसँगै उनले थाइल्याण्ड अब गाँजाका लागि ‘वन्डरल्याण्ड’मा परिणत हुने धारणा सुनिएका थिए ।

केही थाई अभियान्ताहरूले बिहीबार बिहान विभिन्न क्याफेहरूबाट गाँजा किन्दै उत्सव मनाएका थिए । यद्यपि, थाइल्याण्डले चिकित्सा अथवा स्वास्थ्यको उद्देश्यका लागि मात्रै गाँजा खुला गरिएको हो । त्यसैले पनि हालका लागि गाँजाप्रेमी पर्यटकहरूले थाइल्याण्ड सावधानी अपनाउनुपर्ने आवश्यकता कायमै छ ।

चिकित्सा प्रयोगका लागि मात्र गाँजालाई खुला गरिएको थाइल्याण्ड सरकारले बताएको छ । सार्वजनिक रूपमा रमाइलोका लागि गाँजा सेवन अझै पनि गैरकानुनी मानिने बताइएको छ । यसो गरेको पाइएमा तीन महिनाको जेल सजाय तथा २५ हजार थाई भाट (करिब ९० हजार रुपैयाँ) जरिवाना हुनसक्ने भन्दै सरकारले चेतावनी दिएको छ ।

थाइल्याण्डमा अझै पनि गाँजाबाट निकालिने तेललगायतका ०.२ प्रतिशत भन्दा बढी टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी) भएका पदार्थमा भने बन्देज नै लगाइएको छ ।

गत महिना उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले यो राज्य र जनताले गाँजा र भाङबाट कमाउने अवसर भएकोे फेसबुकमा लेख्नुभएको थियो । उहाँले भाङसहित पकाइएको कुखुराको मासुको परिकारको तस्वीर पनि अपलोड गर्नुभएको थियो । उहाँका अनुसार यस्तो परिकारमा टेट्राहाइड्रोक्यान्नाबिनोल (टीएचसी) को मात्रा शून्य दशमलव दुई प्रतिशत भन्दा कम हुनुपर्ने नियम पालना हुनुपर्नेछ । गाँजा र भाङमा पाइने रासायनिक यौगिक टीएचसीले प्रयोगकर्तालाई लठ्याउँछ ।

सन् २०१८ मै थाइल्याण्डले चिकित्सकीय प्रयोगका लागि गाँजा प्रयोगलाई वैधानिकता दिएको थियो । गाँजाको खेती भएको ठाउँमा कीरा लाग्दैन भन्ने गरिन्छ । यसको रेसाबाट महँगो कपडा बन्छ । यसबाट बनेको कपडाको प्रयोगले शरीरमा छालाको रोग न लाग्ने विश्वास गरिन्छ ।

यसमा एउटा लठ्याउनेबाहेक अन्य अवगुण नभएको पाइन्छ । यसको सही प्रयोगले शान्त भएर बस्ने, विभिन्न रोगहरू जस्तो अल्जाइमर्स, क्यान्सर, पेटका समस्या कम हुने तथ्यांकले बताएको छ । यसको गलत प्रयोगबाट रोकेर सही प्रयोग गरेमा फाइँदै फाइदा रहेको बताइन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?