पाँच दिनभित्र भारत छाड्न क्यानडाली कूटनीतिज्ञलाई निर्देशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतले क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणले दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा गराएको छ ।

भारतले क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिनुअघि क्यानडाले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू-रअ)का अधिकारी पवनकुमार राईलाई देश निकाला गरेको थियो ।

यसको २४ घण्टा नबित्दै मंगलबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न निर्देशन दिएको जनाएको छ ।

यसअघि सोमबार संसदमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको र यसबारे सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।

उनले भारतमा हालै आयोजित जी-२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि बताएका थिए । भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद रहेको बताएको छ ।

गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?