काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात नेपाल-भारतबीचको विद्युत् व्यापारमा कोसेढुंगा भएको जनाएको छ । प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् तीन सय ६४ मेगावाट विद्युत् शुक्रबारदेखि भारत निर्यात सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी तीन सय ६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र अर्थात् इन्डिया–नेपाल ज्वाइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेसन जारी भएको थियो । त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।
शुक्रबारदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु-४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशुली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको एक सय ४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु-४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । पानी परेसँगै नदीनालामा पानीको वहाब बढेर विद्युत्गृह पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर-मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोसेढुंगा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयन चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोसेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ, आन्तरिकरूपमा खपत गरी अतिरिक्त सबै विद्युत् निर्यात गरिरहेका छौँ, यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ ।’
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याहृन १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातीको १२ बजेदेखि अर्को दिनको रातीको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच