जिसस स्याङ्जा प्रमुखमा श्रीप्रसाद जिटी

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका नेता श्रीप्रसाद जि.टी. चयन हुनुभएको छ ।

गोलाप्रथाबाट जिसस प्रमुख आफ्नो पोल्टामा पारेसँगै नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जि.टीलाई समन्वय प्रमुख बनाउन सिफारिस गरेको हो ।

पार्टीमा लामो समयसम्म संघर्ष गर्नुभएका उहाँको योगदानको कदर गर्दै जिल्ला समन्वयमा पठाउने निर्णय गरेको स्याङ्जा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका पूर्व पार्टी सभापतिसमेत रहेका जि.टी. नेबिसंघ स्याङ्जाका संस्थापक सभापति समेत हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल जीवन बिताउनुभएका जि.टीले नेपाली कांग्रेसका नेता वी.पी. कोइरालासँगै मुद्दा समेत खेप्नुभएको थियो ।

यस्तै, कांग्रेसले तीन सदस्यमा नेमबहादुर राना, गीता खाण र सरस्वती बगालेलाई सिफारिस गरेको छ । शनिबार दिउँसो गोलाप्रथाबाट गरिएको भागवण्डामा जिल्ला समन्वय समिति स्याङजाको प्रमुखसहित तीन सदस्य नेपाली कांग्रेसले आफ्नो पोल्टामा पारेको थियो ।

उपप्रमुखसहित चार सदस्य नेकपा एमालेको भागमा परेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा प्रमुख र उपप्रमुख २२ जनामध्ये कांग्रेस र एमालेले ११–११ सिट जितेपछि गोलाप्रथाबाट भागवण्डा गरिएको हो ।

यता श्रीप्रसाद जिटीलाई जिसस प्रमुखमा सिफारिस गरेसँगै जिल्ला सहसचिव पृथ्वी पोखरेलले आफूलाई पार्टीले विश्वासघात गरेको भन्दै असुन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले संसदीय समितिको बैठकमा कोरम नपुगेको तथा निर्णय प्रक्रियामा केहीले मात्र हस्ताक्षर गरेको अवस्थामा सर्वसम्मत निर्णय भनेर संसदीय समितिका सदस्यहरूलाई नै गुमराहमा राखिएको आरोप लगाउनुभएको छ ।

उहाँले जिसस सिफारिस गरिनुभएका जिटी राजाका पालामा राजावादी भएर अवसरका पछाडि लागेको भन्दै उहाँको सिफारिसले पार्टीमा दादागिरी देखिएको विज्ञप्तिमार्फत् जनाउनुभएको छ । उहाँले जिटीलाई नगरपालिकाको कार्यपालिका सदस्यमा बदनियतपूर्वक ल्याइएको समेत आरोप लगाउनुभएको छ ।

पोखरेललाई जिल्ला समन्वय समिति प्रमुख बनाउन पार्टी नेतृत्वले एकप्रकारको भद्र सहमति गरेको तर पछि गएर धोका दिएको भन्ने पोखरेल समर्थक नेताहरूको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?