राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । निशाले महिला एकलको १८-२२ वर्ष उमेर समूहमा स्वर्ण पदक जित्नुभएको छ । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कास्य जित्नुभयो ।

सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोस्रो तथा राम गोले र लक्ष्मण गोले तेस्रो हुनुभयो । चारैजना प्रहरीका हुनुहुन्छ । नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५-१८ वर्षको पुरुष एकलमा गोदावरी फिट्नेसका सृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मूलपानीका आयुश ढुंगेलले कास्य हात पार्नुभयो । सो स्पर्धाको महिलामा आर्मीकी पूर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमशः शीर्ष तीन स्थान हात पार्नुभयो ।

पुरुष एकलको १२-१५ वर्ष उमेर समूहमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कास्य हात पार्नुभयो । सो स्पर्धाको महिलामा गोदावरीकी सर्गम थापा पहिलो, स्वयम्भूकी तारा वाइबा दोस्रो तथा स्वयम्भूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ तेस्रो स्थानमा रहनुभयो ।

पुरुष एकलको १०-१२ वर्षमा गोदावरीका निरव महर्जन पहिलो, स्टेपिङ स्टोनका अद्रिश रायन दोस्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेस्रो बन्नुभयो । त्यसै स्पर्धाको महिलामा न्युजेनकी सृष्टि स्याङ्बो प्रथम, झापाकी खुशी गौतम द्वितीय तथा जैशीदेवलकी मुबिक्षा गजुरेल र आर्मीकी कुसुम तामाङ तृतीय हुनुभयो ।

प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न १४ विधामा प्रतिस्पर्धा भइरहेको छ । यसै प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?