त्रासै त्रासमा मनाङका बाढी प्रभावितहरू

हिमालय टाइम्स
Read Time = 8 mins

-नवीन लामिछाने

मनाङ । मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुवात भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गत वर्ष जेठ र असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो ।

गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन।  बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन । विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पुर्याएको थियो ।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र ताल गाउँका प्रभावित पुराना घरलाई सरसफाइ गरेर बस्न बाध्य छन् । मनसुनको सुरुवात भएपछि बाढी प्रभावित त्रास नै त्रासमा बस्न बाध्य छन् । मनाङको सदरमुकाम चामे नै मर्स्याङ्दी नदीको जोखिम रहेको छ । नदीमा आएको बाढीले चामेको विद्यालयलगायत विभिन्न सार्वजनिक संरचनामा क्षति पुर्याएको थियो । बाढीले क्षति पुर्याएका संरचनाको हालसम्म पनि मर्मत सकिएको छैन ।

वर्षामा बाढीको त्रास छ भने जाडोमा चिसोले बाढी प्रभावित सकसमा जीवन जिउन बाध्य छन् । हिउँदको चिसो कठ्याग्रिंदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन् ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा बढी हुने जानकारी गराएको छ र वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी ताल गाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो । सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुंगा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताउनुभयो ।

उहाँका अनुसार गत मंसिरमा गण्डकी प्रदेश सरकारले दिएको दुई लाख र नासोँ गाउँपालिकाले दिएको एक लाखले अस्थायी टहरा मर्मत गरी बसेका छन् । बाढी पीडितका लागि वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताउनुभयो। गतवर्ष मर्स्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।

बस्ती सार्न विज्ञको सुझाव

नासोँ गाउँपालिका–१ तालगाउँ र सिरानगाउँ मर्स्याङ्दी नदीबाट बढी जोखिममा छन् । नदीको किनारमा आएको बाढीको जोखिममा यी दुई गाउँ नै हुन् । जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञहरूले सार्नुपर्ने सुझाव दिएका छन् ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित स्थानको खोजीमा स्थानीयवासी छन् । सुरक्षित स्थानको खोजी गर्दा गर्दै स्थानीयवासी हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि जोखिमयुक्त घर मर्मत गरी बसिरहेका छन् ।

वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान लगाउन सकिएको छैन । यसले गर्दा पुख्र्याैली थातथलो नै छोड्नुपर्ने हो की भन्ने चिन्ताले बाढी प्रभावित शान्त रुपमा बस्न सकेका छैनन् ।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरबाट घर बनाउनसमेत पाएका छैनन् । स्थानीय सरकार र प्रदेश सरकारको केही राहत रकम प्रदान गरेको थियो । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको प्रजिअ रवीन्द्र प्रसाद आचार्यले बताउनुभयो । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ ।

त्रासमै बाढी प्रभावित

ताल गाउँका बाढी प्रभावित त्रासमा रहेको एक वर्ष भएको छ । एक वर्ष हुँदासमेत तालगाउँवासी सुरक्षित अनुभूति गर्न सकेका छैनन् । स्थानीय मोहन गुरुङले बाढीले क्षतिग्रस्त बनाएको गाउँवासी वर्षाको भेल सुरु हुन लागेपछि त्रसित भएको बताउनुहुन्छ ।

लामो सयमको पर्खाइ पछि टिनको टहरा बनाउन उहाँले बताउनुभयो । ‘ढिलै भए पनि ओत लाग्न पाएका छौं । सरकार भएको अनुभूति गरेका छौं’, उहाँले भन्नुभयो, ‘अझै जोखिम छ र त्रास भने कम भएको छैन । यसवर्ष पनि नदीमा बाढी नआउला भन्न सकिदैन। त्रासले निद्रा छैन ।’

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरान ताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापछि यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी गरिएको छ । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन् । बाढीपहिरोको असरले हिमाली जिल्ला मनाङमा विद्यार्थीको संख्या पनि घट्दै गएको छ ।

श्रोत : आइएनएस–स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?