पाँच दलबीच जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन: झलनाथ खनाल

Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय तिनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समिक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

सचिवालयको तर्फबाट प्रस्तुत सो समिक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँले प्रतिवेदनमा नेताहरुले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढने भन्ने विषयमा छलफल जारी रहेको समेत बताउनु भयो ।

खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ ।

नेता खनालले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षा बैठक हो यो । समिक्षा सम्बन्धि एउटा प्रतिवेदन तयार भएको छ । यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समिक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दाखेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’

बैठक बुधबार पनि जारी रहने र निर्वाचनको समिक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकत समाजवादी)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?