प्राकृतिक प्रकोप र हाम्रो नियति

डा. डीआर उपाध्याय
Read Time = 13 mins

सन्दर्भ थियो सुन्दर नगरी पोखारामा हुने दशौं क्रियटिभ राष्ट्रिय व्यक्तित्व सम्मान-२०७९ । मिति तय थियो जेठ २८ गते शनिबार । यसमा सम्मानित हुनुहुने व्यक्तित्वमा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, निर्देशक तथा सञ्चारकर्मी भूषण दाहाल, कलाकार राजेश हमाल, गायक कर्ण दास, संगीतकार सुनिल मास्के र म थियौं । समारोह आयोजक संस्था क्रिएटिभ ब्रोडकास्टिङ मिडिया प्लसका प्रवन्ध निर्देशक मिलन प्रतिकले हामीलाई शुक्रबारै पोखरा आउनका लागि अनुरोध गर्नुभएको थियो ।

म केही अस्वस्थ भए पनि यो विशेष सम्मान रहेको भन्दै आयोजकले गर्नु भएको विशेष आग्रह साथै कार्यक्रमको सहजीकरण गरिरहनुभएका कुशल सञ्चारकर्मी तथा प्रस्तोता नरेश भट्टराईको खास अनुरोधमा म शुक्रबार त्यतातर्फ प्रस्थान गरे श्रीमती सुनिताका साथ । तर, म पोखरा पुग्न असमर्थ भएँ र बीच बाटोबाटै काठमाडौं फर्किएँ । म उपस्थित हुन नपाए पनि समारोह विशेष रूपमा सम्पन्न भएको छ । यसका लागि आयोजकलाई हार्दिक बधाई तथा मलाई यस सम्मानमा सामेल गराउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । यस अवसरमा सम्मानित हुनुहुने सबैमा हार्दिक बधाई तथा शुभकामना ।

यो विशेष समारोहमा उपस्थित हुन नसक्नुको कारण थियो मुग्लिङ-पोखरा खण्डको आबुखैरेनीमा सडक भासिनु । जहाँ तीन सवारीसाधन नदीमा खसेका थिए जसमा कारमा सवार दुईजनाको दुखद् निधनसमेत भएको थियो । शुक्रबार बिहान पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डको मस्र्याङ्दी जलविद्युत् परियोजनाको टेलरेस सुरुङ नजिकै सडक भासिँदा तीनवटा सवारीसाधन नदीमा खसेका थिए ।
शुक्रबार बिहानैको यो घटनाले हामीलाई मर्माहत बनायो । र, हामी अघि नबढी काठमाडौं फर्कियौं । हाम्रा सडकहरूको दूराअवस्थाले गर्दा यसरी कैयौंको ज्यान अकालमा गएको छ । हाम्रा सडकको अवस्था हेर्दा फेरि यो बाटो हिँडन नपरे हुन्थ्यो जस्तो लाग्छ तर बाध्यता हाम्रो अर्को विकल्प छैन । गत महिना म धनगढीबाट काठमाडौं आउँदा पनि निक्कै सास्ती खेप्नुपरेको थियो । दैनिक यी बाटोमा यात्रा गर्नेको अवस्था झन् के होला ?

मौसमविद्हरूले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसै वर्षको मनसुनजन्य विपद्बाट देशभर २० लाख मानिस प्रभावित हुनसक्ने विज्ञले बताइरहेका छन् । यसै वर्ष नेपालमा एक हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ ।

सडकलाई खाल्डाविहीन र सुरक्षित बनाउन निश्चित समयको अन्तरालमा पुनर्निर्माण अनिवार्य हुन्छ तर त्यस्तो हुन नसक्दा हाम्रा राजमार्गमा धेरैले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ । सम्बन्धित निकायको समयमै यसतर्फ ध्यान नजानु र निर्माण सुरु गरेका कार्य समयमै निर्माण सम्पन्न हुन नसक्नुका कारण सर्वसाधरणले सास्ती खेप्दै, ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । यो नै हाम्रो तीतो यथार्थ हो । हाम्रो सडकको यो दूराअवस्थालाई केन्द्रमा बसेर राज्य सञ्चालन गरिरहेकाले ध्यान पु¥याउन नसक्दा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न विवश छन् ।

सडक बिग्रिएपछि समयमै नबनाउने र भविष्यमा आउने समस्याबारे नसोच्ने प्रवृत्तिका कारण हाम्रा प्रायः सडक जोखिमपूर्ण बनेका छन् । जोखिमयुक्त स्थानको भूगर्भको अध्ययन गरेर सडक संरक्षण गर्न नसकेका कारण हामीले ठूलो क्षति व्यहोर्दै आएका छौं । हाम्रा सडकमार्ग असुरक्षित बन्दै गइरहेका छन् भने हवाईमार्ग पनि त्यत्तिकै जोखिमपूर्ण रहेको हामीकहाँ हुने विभिन्न हवाई दुर्घटनाले पुष्टि गर्दछन् ।
हामीले जोखिम न्यूनीकरण र सडक सुरक्षालाई प्रथामिकतामा नराखेका कारण सर्वसाधारणले अकालमा मृत्यु वरण गर्नु परेको छ ।

सरकारको लापरबाही र हेलचेक्र्याइँका कारण भइरहेको जनधनको क्षतिलाई भवितव्य र दुर्घटनामात्रै भनेर बस्दा समस्या झन्-झन् बढदै गएको छ । यसतर्फ सम्बन्धित निकायले समयमै सचेतना नअपनाउने हो भने भविष्यमा यो झन जिटल बन्दै जाने निश्चित प्रायः छ । वर्षाको मौसम सुरु भएको छ । वर्षाको मौसम सुरु भएसँगै बाढी पहिरोका केही घटना सार्वजनिक भइरहेका छन् । यस अवस्थामा अझ बढी सचेत हुनुपर्ने छ ।

मौसमविद्हरूले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसै वर्षको मनसुनजन्य विपद्बाट देशभर २० लाख मानिस प्रभावित हुनसक्ने विज्ञले बताइरहेका छन् । यसै वर्ष नेपालमा एक हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । सरकारको बाढी पहिरोका बारेमा पूर्वतयारी तदारुकताका साथ गरेको पाइँदैन । यो मुख्य चिन्ताको विषय हो ।

विपद् व्यवस्थापन र पूर्वतयारीमा ध्यान पु¥याउनु जरुरी छ । विगतका घटनाबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि समयमै सचेत हुनुपर्ने देखिन्छ । सरकारले प्रभावकारी योजना ल्याउन आवश्यक छ । बाढी पहिरोले क्षति पुर्‍याउन सक्ने ठाउँका बसोबासलाई अन्यत्र सारेर भए पनि व्यवस्थापन गर्नुपर्दछ । सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार राख्नुपर्दछ । हामीकहाँ गाउँमा सडक बनाउन अत्यधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोका घटना बढी हुन थालेका छन् । विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्दछ ।

गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसंख्या अनुमान गरिएभन्दा बढी भयो । विसं २०७८ मा आकलन अनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुनः ठूलो धनजनको क्षति पुर्‍याएको थियो । यसपालि पनि त्यो क्रम दोहोरिने सम्भावना कायमै छ ।

नेपालमा जोखिम न्यूनीकरणमा गर्ने खास योजनको अभाव छ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकाहरूको भूमिका नै महत्वपूर्ण हुने हुनाले पालिकाहरूलाई नै जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ठोस कदम चालेको पाइँदैन । स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

हाम्रो देशका नागरिक धेरै प्रकारका जोखिम बहन गर्न बाध्य छन् । हाम्रो मुलुकलाई बहुप्रकोपीय जोखिम भएको मुलुकमा लिन सकिन्छ । हामीकहाँ ८० प्रतिशत नागरिक कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोपको जोखिममा रहेको बताइन्छ । हामीकहाँ हरेक वर्ष जस्तो बाढी, पहिरो, खडेरी, चट्याङ, हावाहुरी, भूकम्प, विभिन्न रोगको प्रकोप, जाडोको मौसममा तराईमा शीतलहर गर्मी मौसमा ‘लू’ यस्तै आगलागी, हिमपहिरो, औद्यौगिक प्रदूषण, सडक दुर्घटनालगायत विभिन्न प्रकोपबाट हामी प्रताडित हुँदै आएका छौं ।

यस्ता विभिन्न प्रकोपबाट सिर्जित विपद्बाट जनधनको ठूलो क्षति हुने गरेको छ । विपद्बाट हुने क्षति वर्षेनी बढ्दो नै छ । यसले हाम्रो सामाजिक, आर्थिक क्षेत्रका साथै वातवरणीय क्षेत्रमा तत्कालीन र दीर्घकालीन अपर पुर्‍याइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक इच्छाशक्तिको आवश्यकता छ । प्राकृतिक प्रकोपहरू हाम्रा नियति हुन् । यस्ता प्रकोपबाट बच्न हामीले निश्चित कार्यक्रम बनाएर अघि बढ्नु जरुरी छ । अन्यता यस्ता प्रकोपबाट वर्षेनी ठूलो क्षति व्येहोर्नुपर्ने छ हामीले । हरेक वर्ष आएका विभिन्न विपद्बाट सिंह दरबारले पाठ सिकेको देखिँदैन ।

प्राकृतिक प्रकोप हाम्रो नियति हो । प्राकृतिक विपद् हामीले नियन्त्रण गर्न सम्भव छैन तर प्रविधिको प्रयोग, चुस्त व्यवस्थापन, प्रकोप न्यूनीकरणका वैज्ञानिक व्यावहारिक कार्यक्रम, योजनाबाट क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ, विपद् व्यवस्थापन गर्न सकिन्छ । यसतर्फ ठोस कदम चाल्नुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

विभागले यो वर्षको मनसुन जेठ १८ देखि सुरु भएर असोज १४ गतेसम्म रहने अनुमान गरेको छ । यो चार महिनाको अवधिमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । बढी वर्षाका कारणले देशका विभिन्न ठाउँमा क्षति पुर्‍याउने देखिन्छ । यसको सुरुवात पनि भएको पाइन्छ । त्यसैले सरकारले यसलाई न्यूनीकरण गर्न ठोस र प्रभावकारी कदम समयमै चालोस् । सरकार भएको अनुभूति आमजनसमुदायमा देओस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?