दाङमा बढ्दै अपराधका घटना, चार वर्षमा ३५७ जनामा यौन हिंसा

Read Time = 6 mins

-विवेक खड्का
दाङ । असार २ गते राति सवा ८ बजेतिर २५ वर्षिय एक युवतीमाथि सामूहिक बलात्कार भयो । नयाँ बसपार्कमा रहेकी युवतीलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेको एक निर्माणाधिन भवनमा लगेर चारजना युवाले सामूहिक बलात्कार गरे ।

घटना भएको केही समयपछि मात्रै युवतीका आफन्त र छिमेकीले थाहा पाए । सुस्तमनस्थितिकी ती युवतीमाथि बलात्कार भएको खबर आफन्तले प्रहरीलाई गरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरू गर्यो । अनुसन्धानकै क्रममा प्रहरीले तीन दिनपछि तीनजना पक्राउ परे । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–९ दोघरेकै तीनजनालाई पक्राउ गरेको छ भने एकजना अझै फरार रहेका छन् ।

घटनामा संलग्न रहेका मुख्य आरोपी ३० वर्षिय कमल चौधरीलाई प्रहरीले शनिबार बिहानमात्रै पक्राउ गरेको प्रहरीको भनाइ छ । त्यसपछि उनको बयानको आधारमा घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सोही ठाउँकै २४ वर्षिय शंकर विक र १८ वर्षका अर्जुन परियार पनि शनिबार दिउँसो नै पक्राउ परे ।

घटनामा संलग्न सोही ठाउँकै २१ वर्षिय अर्जुन विकलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो । ‘घटनामा संलग्न शनिबार दिउँसोसम्म तीन जनालाई पक्राउ गरिसकेका छौँ’ उहाँले भन्नुभयो, ‘तीनैजनालाई तुलसीपुरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।’

बसपार्कबाट पीडित युवतीलाई कमलले फकाएर निर्माणधिन घरमा लगेका थिए । उनले त्यसपछि आफ्ना तीनजना साथीलाई क्रमश पालैपालो बोलाएपछि थप तीनजनाले पनि बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले जानकारी दिनुभयो । ‘घटनाको मुख्य योजनाकार कमल नै देखिएका छन’ उहाँले भन्नुभयोे, ‘अपराध गर्ने चारैजना हुन्, पक्राउ परेका तीनजनाले अपराध स्विकार गरिसकेका छन् ।’ घटनापछि पीडितका आफन्तले ईलाका प्रहरी कार्यालयमा पीडक चारैजना विरूद्ध जाहेरी दिइसकेका छन् । अब जिल्ला अदालतमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ । तुलसीपुरको यौनजन्य अपराधको घटना पछिल्लो हो । समाजमा पछिल्लो समय यौनजन्य अपराध बढ्दै गएका छन् । बालिका तथा महिलामाथि हुने यौन अपराधका घटना न्यूनीकरण हुनुको साटो दिनप्रतिदिन बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांकले देखाएको छ । यौनजन्य अपराधमा संलग्नलाई कडा सजायको कानुन बनेपनि समाजमा अपराध घट्नुको साटो बढ्दो देखिएको छ ।

चार वर्षमा ३५७ जनामा यौन हिंसा

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यां अनुसार पछिल्लो चार वर्षको अवधिमा साढे तीन सय बढी यौनजन्य अपराधका घटना भएका छन् । प्रहरीमा जाहेरी परेका आधारमा आर्थिक वर्ष ०७५/०७६ देखि चालु वर्षको जेठ मसान्तसम्ममा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका ३५७ घटना भएका छन् । तथ्यांकअनुसार पछिल्ला वर्षमा यौनजन्य अपराधका घटनामा बढ्दै गएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा ४९ वटा जबरजस्ती करणीका घटना भएका छन् भने जवरजस्ती करणी उद्योगका २१ वटा भएका छन् । यस्तै आर्थिक वर्ष ०७६/०७७ मा जबरजस्ती करणीका ६३ वटा जाहेरी प्रहरीमा परेका छन् भने जबरजस्ती करणी उद्योगका २२ वटा भएका छन् । आर्थिक वर्ष ०७५/०७६ को तुलनामा आर्थिक वर्ष ०७६/०७७ मा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग दुबै घटना बढी देखिएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय दाङमा ७२ वटा जबरजस्ती करणीको जाहेरी परेको छ । यस्तै सोहि आर्थिक वर्षमा २७ वटा जबरजस्ती करणी उद्योगका घटना भएको देखिएको छ । प्रहरीको तथ्यांकअनुसार जिल्लामा वर्षेनी जबरजस्ती करणी उद्योगको तुलनामा जबरजस्ती करणीका घटना बढेको देखिएको छ ।

जिल्लामा चालु वर्षको अन्त्य हुन एक महिना बाँकी हुँदा पनि जबरजस्ती करणीका ७८ र जजक उद्योगका २५ घटना भएका छन् । जुन तथ्यांक गत वर्षको भन्दा बढी हो । यौनजन्य अपराधमा विषेशगरी २० वर्ष मुनिका बालबालिका अझ बढी संलग्नता हुने गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । ‘बालबालिका बढी यौनजन्य अपराधमा संलग्न भएको देखिन्छ’ उहाँले भन्नुभयोे, ‘बढ्दो सूचना प्रविधिले यौनजन्य अपराध बढाएको छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?