डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूले धोका पाएको बताउनुभएको छ । आइतबार काठमाडौंमा सम्पदाकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच प्रभावकारी रूपमा तालमेल हुन नसकेको बताउनुभयो । आशा गरे अनुसारको परिणाम गठबन्धनबाट नआएको उहाँको भनाइ थियो । ‘पहिलो कुरो स्थानीय निर्वाचनमा हामीले के पाठ सिक्यौँ ? गठबन्धन नै गर्न हुँदैनथ्यो भन्ने पाठ हो कि ? गठबन्धन गर्दा अहिलेको अवस्थाको विचार पु¥याउनुपर्ने हुन्थ्यो कि ? कहीँ न कहीँ त्रुटि छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई पूरा सहयोग भएन । अरूले पनि कमजोरी स्वीकार गर्नुभएको छ । हाम्रो शक्तिलाई ‘अण्डरमाइण्ड’ गरेको, बेवास्ता गरेको र कमी कमजोरी भयो भनेर स्वीकार गरेको अवस्था छ । आज आएर गठबन्धन दलबाट ‘रिअलाइजेसन’ भएको छ । अब गर्ने ? विगतका कुरालाई मात्रै लिएर त्यसैमा अल्झिरहन पर्ने आवश्यकता छैन ।’
नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । उहाँले गठबन्धनको गीत गाउन छाडेर आफ्नो पार्टीलाई सबै जिल्लाका स्थानीय निकायहरूमा मजबुत बनाउने कुरामा लाग्न पनि नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘अब निर्वाचनको तयारीमा जुट्नुपर्छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । अहिलेदेखि नै हामीले चुनावको निम्ति छलफल चलाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति जोड लगाउनुस् । संगठन विस्तार गर्ने कुरामा लागि पर्नुहोस् । देशका ७५३ वटा नै पालिकाहरूमा पार्टी संगठन विस्तारको काम गर्नुहोस् । टोल गाउँसम्म पार्टीलाई पु¥याउने काममा जुट्नुहोस् । संगठन निर्माणको कुरामा दिनुपर्ने जति ध्यान दिएका छैनौँ ।’
‘वाम एकताका विषयमा सकारात्मक नै छौँ, गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ’
नेकपा अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताउनुभयो । ‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ । महिनाभित्र चुनाव हुन्छ । मंसिरलाई आधार मानेर चुनावको तयारी छ । अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ । गठबन्धन गर्ने भएकाले सिटबारे पनि छलफल गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘आगामी चुनावमा एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ । कुनै एक पार्टीको बहुमति नआउने भएकाले हामीले मिलेरै जानुको विकल्प छैन ।’
कमजोरीको समीक्षा गर्दै मिलेरै अगाडि बढ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको उहाँको भनाइ छ । आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले यो गठबन्धन आगामी दिनमा पनि कायमै रहने उहाँले बताउनुभयो । ‘मापदण्ड बनाउने कुरा समयमै गर्नुपर्छ, चाँडो गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी र गठबन्धन स्पष्ट छ,’ उहाँले भन्नुभयो, ‘विगत चुनावमा भएको त्रुटिहरूलाई लिएर नकारात्मक धारणा राख्न केही आवश्यक छैन ।
अध्यक्ष नेपालले आफू जहिले पनि वाम एकताका बारेमा सकारात्मक रहेको बताउनुभयो । मूल उद्देश्यका लागि एकताबद्ध भएर जान आफूहरूलाई आपत्ति नभएको उहाँको भनाइ छ । ‘वाम एकतामा हामी जहिले पनि सकारात्मक नै छौँ । उहाँले भन्नुभयो, ‘तर कुन वाम एकता ? ‘विचारमा मिलेर जानसक्ने अवस्थामा मूल उद्देश्यका लागि एकताबद्ध भएर जान सक्ने हो भने हामी तयार छौँ ।’
‘छिट्टै मन्त्री परिवर्तन हुन्छन्’
अध्यक्ष नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ भएको बताउनुभएको छ । प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग आइरहेकाले केहीदिन पर्खन भनेकाले ढिलाइ भएको बताउनुभएको हो । आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिट्टै नै परिवर्तन हुने उहाँको भनाइ थियो । ‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भनेका कारण मन्त्री परिवर्तनमा ढिलाइ भइरहेको छ । छिटै अब मन्त्रीहरू परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीले जवाफ दिनुभएको छ,’ उहाँले भन्नुभयो । पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका प्रेम आलेले बोलेको शब्दहरूप्रति लक्षित गर्दै आगामी दिनमा विचार पुर्याएर मात्रै बोल्न आग्रह गर्नुभयो ।
‘प्रधानमन्त्रीले नेपालको हितमाथि आघात पुग्ने कुनै सम्झौता हुन्न भन्नुभएको छ, धेरै शंका गरिरहनु पर्नेछैन’
अध्यक्ष नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)ले नयाँ तरंग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हीतविपरीत सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभएको भन्दै शंका गरिरहन आवश्यक नरहेको पनि बताउनुभयो । नेपालले एसपिपी फिर्ता लिने वा नलिने भन्ने बारेमा पनि गठबन्धन बीचमा पूर्ण छलफल नभएको बताउनुभयो । तर, अबका बैठकमा छलफल गर्ने पनि स्पष्ट पार्नुभयो । ‘स्टेट पार्टनरसिप प्रोग्रामले पनि नयाँ तरंग पैदा गरेको छ । जनतको चाहनालाई पार्टीले गहिरो गरेर बुझ्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुनेछैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । अब हामीले धेरै शंका गरिरहनु पर्नेछैन । तर, यसका बाबजुद पनि नेपाली जनतालाई सजग बनाइरहनु पर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच