आइटी पार्कमा निजीलाई पनि सहभागी गराउन माग

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सूचना प्रविधि (आइटी) क्षेत्रबारेमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । सिएनआईको आइटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. वैकुण्ठ अर्याललगायतसँग छलफल गर्दैै आइटी पार्क निर्माण निजी क्षेत्रलाई पनि सहभागिता गर्न आग्रह गरेको छ । उसले भारत, फिलिपिन्सलगायतका मुलुकले दिएजस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको हो ।

सूचना प्रविधि निर्यातमा शतप्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुने भएकाले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने सिएनआईको भनाइ छ । सिएनआईले आगामी वर्षको बजेटमा विदेशी लगानीको न्यूनतम सीमा पुनरवलोकन गरी दुई करोड कायम गर्ने घोषणा स्वागतयोग्य भए पनि यस्तो सीमा सूचना प्रविधि क्षेत्रमा राख्नुनहुने भन्दै सूचना प्रविधि क्षेत्रमा अटोमेटिक रुटमार्फत् वैदेशिक लगानी ल्याउन मिल्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराउँदै नीतिगत सुधार आवश्यक भए सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न, रोजगारी अभिवृद्धि गर्न एवं लगानीकर्तालाई सहज वातावरण बनाउन मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको सूचना प्रविधि क्षेत्रमा रहेको दक्ष जनशक्ति, विद्युत्, मौसमलगायतका दृष्टिकोणले सूचना प्रविधिको विकासका लागि नेपाल उपयुक्त रहेको बताउनुभयो । आइटी काउन्सिल संयोजक दिलिप अग्रवाल र सूर्य नेपालका रविकुमार रायवरमले नेपालमा सूचना प्रविधि क्षेत्रको अवसर, थप सुधार गर्नुपर्ने नीतिगत व्यवस्था, सूचना प्रविधि क्षेत्रमा अन्य मुलुकले दिएका सुविधा एवं सहुलियतलगायतबारे चर्चा गर्नुभएको थियो । नेपालले तीन अर्ब ३० करोड अमेरिकी डलर बराबर सूचना प्रविधि निर्यात गर्न सक्ने अनुमान गरिएको छ । नेपालमा हरेक वर्ष आइटी क्षेत्रमा सात हजार पाँच सय विद्यार्थी उत्पादन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?