बिसिसी र केसिटिसी सफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भक्तपुर क्रिकेट सेन्टर (बिसिसी) र काठमाडौं क्रिकेट ट्रेनि सेन्टर (केसिटिसी) ले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन पाँचमा मंगलबार सफलता हात पारेका छन् । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बिसिसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित गर्‍यो ।

बिसिसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२४ रन बनायो । बिसिसीका श्रीराजवीर श्रेष्ठले ५४ बलमा ४० तथा विज्ञान अधिकारीले २३ बलमा २२ रन जोड्नुभयो । त्यसमा श्रीराजले एक तथा विज्ञानले तीन चौका प्रहार गर्नुभयो । नेक्ससका सोहन ढुंगानाले तीन ओभरमा १० रन खर्चदै तीन विकेट लिनुभयो ।

नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो । नेक्ससका राहुल अग्रीले ३१ बलमा पाँच चौका मद्दतमा ३४ रन बनाउनुभयो । ‘म्यान अफ द म्याच’ बिसिसीका दक्ष बरालले चार ओभर बलिङमा ३.५० को औसतमा १४ रन दिँदै तीन विकेट लिनुभयो । चार ओभरमै ३.७५ को औसतमा १५ रन खर्चेका बिसिसीकै टेकमान चौधरीले पनि तीन विकेट हात पार्नुभयो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसिटिसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई एक विकेटले हरायो ।

एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो । एन्जल्सका युनिशविक्रम सिंहले ३९ बलको सामना गर्दै ५१ रन बनाउनुभयो । उहाँले तीन-तीन चौका र छक्का प्रहार गर्नुभयो । एन्जल्सकै दिवस कुँवरले आठ बलमा १८ रन जोड्नुभयो । ‘म्यान अफ द म्याच’ केसिटिसीका विनित पन्थीले चार ओभरमा १२ रन दिएर तीन विकेट लिनुभयो भने एन्जल पौडेलले दुई विकेट हात पार्नुभयो ।

जवाफमा केसिटिसीले १९.४ ओभरमा नौ विकेट क्षतिमा ९४ रन जोड्यो । केसिटिसीका अभिषेक उपाध्यायले ३१ बलको सामना गर्नेक्रममा २७ रन बनाउनुभयो । एन्जल्सका दिवस कुँवरले तीन विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?