सप्तरीको खाँडो नदी नियन्त्रणको काम सात वर्ष वित्दा पनि अधुरै

Read Time = 4 mins

-अनिल पोखरेल
राजविराज । सात वर्ष अघि सुरु भएको सप्तरीको खाँडो नदी नियन्त्रणको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नदीमा तटबन्ध निर्माण अधुरो रहेका कारण वर्षामा कटानको खतरा बढेको हो ।

सप्तरीमा बाढीले सबैभन्दा बढी क्षति गर्ने नदीका रुपमा खाँडो नै रहेको छ । जिल्लाका एक दर्जन जति गाउँमा खाँडोमा आउने बाढीको जोखिम रहने गरेका कारण आर्थिक वर्ष २०७२/०७३ मा राजविराजमा खाँडो नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरी तटबन्ध निर्माण सुरु गरिएको हो ।

तिलाठी, बेल्ही, सकरपुरा, मधेपुरा, कोबर्साइन, रुपनी, दिघवा, पकरी, तोपा, विषहरिया, लौनियाँ लगायतका गाउँहरू खाँडोको बाढीको उच्च जोखिममा रहेका कारण तटबन्ध निर्माणको काम थालनी भएको हो । काम सुरु भए यता तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीमा सात सय मिटर, रुपनी गाउँपालिका वडा नं २ मा एक सय ६० मिटर तथा सोही गाउँपालिका वडा नं. ६ स्थित तेरहौतामा तीन सय मिटर तटबन्ध निर्माणको काम भएको छ । तेरहौतामा एक सय ५० मिटर काम बाँकी नै रहेका कारण यसपालिको बाढीमा कटानको जोखिम कायमै रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

यसैगरी तिलाठीका स्थानीयले नदी नियन्त्रणको काम पूरा नभएका कारण यसपालिको वर्षामा पनि बाढीको जोखिम यथावतै रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे । ६ वर्ष अघि तटबन्ध निर्माण थाल्दा अब त राती ढुक्क भई सुत्न पाइएला भन्ने लागेको थियो, उनीहरूले भने, तर काममा सोचे जस्तो गति नदेखिएका कारण राती कति बेला बाढी पसेर सखाप पार्ने हो भन्ने हाम्रो चिन्ता यथावतै छ ।

खाँडो नदी व्यवस्थापन आयोजनाका प्रमुख एकराज भट्टराईका अनुसार पर्याप्त बजेटको अभाव, जग्गा सम्बन्धी विवाद, निर्माण व्यवसायी परिचालनमा कठिनाइ लगायतका समस्याका कारण काममा बिलम्ब भइरहेको बताउनुभएको छ । उपभोक्ता समिति गठनमा समस्या तथा कार्यालय सञ्चालनमा पूर्वाधारको कमी लगायतका समस्याले पनि काम प्रभावित हुने गरेको उहाँको भनाई छ ।

उपलब्ध बजेटबाट हालसम्म काम गर्दै आएकोमा नदीमा पानीको सतह बढेका कारण तत्काल काम गर्न सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभएको छ । उहाँले वर्षाको समयमा ढुंगा अभाव, ढुवानीमा समस्या तथा नदीमा बाढी बढेका कारण तत्काल तिलाठी कोईलाडी, बेल्ही, दिघवा लगायतका स्थानमा तटबन्ध निर्माणका कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?